ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई

 वैशाख २१, २०७७ आइतबार १३:५६:१९ | रासस
unn.prixa.net

ताप्लेजुङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गर्नुभएको छ । 

आइतबार बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गर्नुभएको हो । आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिनुभयो ।

‘तपाईँहरुलाई पुनःस्थापनामा केन्द्र, प्रदेश र पालिकाका साथै स्थानीय समुदाय सबैको साथ सहयोग मिल्नेछ’, उहाँले भन्नुभयो । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई देशभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गर्नुभयो । यता छलफलका क्रममा आगलागी पीडितको प्रतिनिधित्व गर्दै आगलागी पीडित यीगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गर्नुभयो । 

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताउनुभयो । 

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताउनुभएको थियो । शुक्रबार भएको आगलागीले यहाँका साना ठूला गरी १० घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन् । यस्तै सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया