कोरोनाको जोखिम बढ्न नदिन बाँकेमा उच्च सतर्कता

 बैशाख २२, २०७७ सोमबार १४:४१:२३ | रासस
unn.prixa.net

बाँके - नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ ।

नेपालगञ्जमा  आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको  प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । 

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको  छन् । 

प्रजिअ खड्काले भन्नुभयो,‘उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।’ उहाँले कोरोना सङ्क्रमणको जोखिम हुन  नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गर्नुभएको छ । लकडाउनको ३८ औँ दिन यहाँ सङ्क्रमण देखिएको थियो । 

नेपालगन्जको अन्सारी मस्जिदका मोअज्जीनमा पहिलो पटक सङ्क्रमण पुष्टि भएको हो । मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

कोरोना सङ्क्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सङ्क्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ । सङ्क्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिविधिका कारण जोखिम बढ्न सक्ने भन्दै पूरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । 

गएको शुक्रबार एक जना र आइतबार १५ जना सङ्क्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

पहिलो सङ्क्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ । नेपालगञ्जमा एकाएक सङ्क्रमितको सङ्ख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया