सुदूरपश्चिममा किट अभावले कोरोना परीक्षण रोकियो

 बैशाख २६, २०७७ शुक्रबार २०:१७:३९ | रासस
unn.prixa.net

 कैलाली - सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।

पीसीआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

‘सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पठाउने कुरो छ’, उहाँले भन्नुभयो, ‘आज रातिसम्म आइपुग्ला ।‘

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पीसीआर मेशिनमार्फत कोरोना परीक्षण हुँदै आएको थियो ।

‘किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको जाँचसमेत हुन सकेको छैन’, निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले भन्नुभयो, ‘हाल सुदूरपश्चिम प्रदेशमा पीसीआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पीसीआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो ।

‘पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ, प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ’, उहाँले भन्नुभयो 

बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको छ । जसमा ५५ जनाको किट अभावले परीक्षण भएको छैन भने पाँचजनाको कोरोना पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

जोशीका अनुसार परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो ,अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।

उहाँले मास्क, पीपीईलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताउनुभयो । किट अभाव हुँदा परीक्षणदेखि नमूना सङ्कलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पीसीआर र आरडीटीबाट हालसम्म १७ हजार ५ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३ सय ९१ क्वरेण्टीनमा बिहीबारसम्म तीन हजार ३ सय ७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ ।

‘क्वरेण्टीनमा बसेकाहरुको स्वाब लिएर परीक्षण गर्न बाँकी छ’, जोशीले भन्नुभयो, ‘पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।’

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया