लिच्छविकालीन राजकुलोको काम तीन तहका सरकारले मिलेर गर्ने

 वैशाख २७, २०७७ शनिबार ११:३५:० | रासस
unn.prixa.net

ललितपुर - वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले लिच्छविकालमा पुर्खाले निर्माण गरेका गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँदेखि वडा नम्बर ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो निर्माणको काम अब तीन तहका सरकार मिलेर पूर्ण गर्नुपर्ने बताउनुभएको छ । 

‘टीकाभैरव–पाटन राजकुलो श्रम अभियान सार्वजनिक कार्यक्रम’ मा शुक्रबार उहाँले लिच्छविकालमा पुर्खाले निर्माण गरेका राजकुलो दीर्घकालीनरुपमा पुनः सञ्चालन गर्न प्रदेश, सङ्घ र स्थानीय तह सबै मिलेर अघि बढ्नुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा सहभागीलाई मन्त्री फुयाँलले प्रदेशले सार्वजनिक ऐन बनाउँदा कुलो नमासिने गरी बनाउने विश्वास दिलाउनुभयो । सहरको सौन्दर्य देखिने गरी कुलो निर्माण गरिने उहाँको भनाइ थियो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन, ललितपुरका प्रमुख रिसभ रिसालले यस वर्षको असार सम्ममा प्रदेश सरकारले दिएको रु ४९ लाखबाट राजकुलोमार्फत पानी सञ्चालन गरिने जानकारी दिनुभयो । डिपिआर तयार भइसकेपछि कुलो निर्माणमा कति खर्च लाग्छ त्यसको मूल्याङ्कन पछि हुने रिसालले बताउनुभयो । 
    
ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले राजकुलो निर्माणका लागि कम्तीमा रु १० करोडको परियोजना अघि बढाउनुपर्ने सुझाव दिनुभयो । क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जनले राजकुलो निर्माणमा सङ्घले पनि आर्थिक सहयोग गर्ने मत व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्य लालकुमारी पुनले गोदावरीको राजकुलोका साथै ललितपुरका हरेक कुलोबाट पानी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले लामो समयदेखि बन्द रहेको राजकुलोबाट गोदावरी र ललितपुरका केही क्षेत्रमा पानी झारी कृषि उत्पादनलाई थप बढवा दिने वातावरण सिर्जना हुनुपर्ने जानकारी दिनुभयो । 

प्रदेशसभा सदस्य राजकाजी महर्जनले यस राजकुलो ललितपुरका तीन वटै क्षेत्रका लागि गौरवको विशेष योजना बन्नुपर्ने बताउनुभयो । प्रदेशसभाका सदस्य जीवन खड्काले विकासका नाममा कुलोलाई हस्तक्षेप गरी सडक निर्माण भइरहँदा सरकारी जमिनलाई व्यक्तिको कब्जाबाट मुक्त गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

नगर प्रमुख गजेन्द्र महर्जनले २०४६ सालदेखि राम्रोसँग सञ्चालन नभएको उक्त राजकुलो मासि घर तथा सडक बनाएका स्थानमा कसरी काम अघि बढाउने भन्नेतर्फ बृहत् छलफल हुन जरुरी रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “गोदावरी र पाटनका ऐतिहासिक धारा र पोखरीलाई राजकुलोको पानीले अब नयाँ जीवन प्रदान गर्नेछ ।” 

वडा नम्बर १० का वडाध्यक्ष दर्शनकुमार विष्टले पहिराका कारण पुरिएको कुलोमा पानी सञ्चालन गराउन लगभग ७ सयदेखि ८ सय मिटर माटो काटेर फाल्ने काम भइसकेको जानकारी दिनुभयो ।

कुलो निर्माणमा गठित उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर महर्जनले असारभित्र कुलोमार्फत पानी ल्याई यस वर्षको रोपाइँ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसैगरी शुक्रबार सो राजकुलो निर्माणका लागि मन्त्री फुयाँललगायत ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सदस्यले सातदोबाटोदेखि थेचोसम्म अनुगमन गर्नुभयो । उक्त राजकुलो सञ्चालनमा आउँदा गोदावरीको करिब ६० हजार रोपनी जमिन सिँचाइ हुने बताइएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया