लकडाउनले फर्कायो गाउँको रुपरङ तर एउटै चिन्ता रोजगारीको

 बैशाख २८, २०७७ आइतबार १३:२१:५६ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि देशभर लकडाउन (बन्दाबन्दी) चलिरहेको छ । लकडाउनको कारण कार्यथलो छोडेर धेरै मानिस गाउँ फर्किएका छन् । अध्ययन वा कामको सिलसिलामा सहर पसेकाहरु गाउँ फर्किएपछि लकडाउन छ भन्दै केही नगरी चुपचाप बसेका छैनन् । गाउँ फर्किएका धेरैजसो मानिस खेतीपातीको काममा व्यस्त छन् भने केही मानिस परिवारले गर्दै आइरहेको पुख्र्यौली पेसामा सहयोग गरिरहेका छन् । केही समाजमा चेतना फैलाउने काममा व्यस्त रहेको पाइएको छ । यसबाहेक केही मानिस बाल्यकालको सम्झना मेटाउन पौडी खेल्ने र माछा मार्ने काममा व्यस्त छन् । 

खेतीपातीमा व्यस्त

काठमाडौको काँडाघारीमा बस्दै आउनुभएका जनक कार्की लकडाउन भएपछि नगरपालिकासँगको समन्वयमा आफ्नो घर डोल्पा जानुभयो । अब के हुने हो भन्ने भारी मन लिएर जानुभएका उहाँ गाउँ गएपछि १४ दिन क्वरेण्टीनमा बस्नुभयो । डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ६ मा स्थायी घर भएका कार्की अहिले  परिवारसँगै रमाएर बसिरहनुभएको छ । उहाँ परिवारसँग मिलेर खेतीपातीको काममा व्यस्त हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एमएसी गरिरहनुभएका कार्की कोरोनाले विश्वव्यापी रुपमा निम्त्याएको सङ्कट र तनाबको समयमा घरमा बस्न पाएकोमा आफूलाई निकै खुसी लागेको बताउनुहुन्छ । देशका अन्य ठाउँमा जस्तै डोल्पामा पनि खेतीपाती गर्ने बेला भएको छ । उहाँ बस्नुभएको ठाउँमा धान खेती खासै हुँदैन । मकै, गहुँ, जौ र कोदोलगायतका खेती हुन्छन् ।

उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौबाट घर टाढा छ । अरु समयमा गइरहन पाइँदैन । एक-दुई वर्षमा १ पटक घर जाँदा खेतीपातीमा खासै संलग्न हुन पाइँदैन । अहिले खेतीपातीको काममा लाग्दा आत्मसन्तुष्टि मिलेको छ ।’ यस्तै अर्गानिक तरकारी र फलफुल खेतीबारे बुझ्ने मौका पाएको र समाजसँग घुलमिल हुन पाएको उहाँको अनुभव छ । 

माछा मार्न खोलामा

यस्तै घ्याङलेख गाउँपालिका वडा नम्बर १ सिन्धुलीका जितबहादुर तामाङ यतिवेला माछा मार्न चाहने घल्याङ बुन्नमा व्यक्त हुनुहुन्छ । वर्षात् लागेपछि माछा मार्ने समय हुँदा घल्याङ निकै बिक्री हुने गर्छन् । बेच्न गाउँभन्दा बाहिर जान नपर्ने हुँदा उहाँको कार्यलाई लकडाउनले कुनै असर गरेको छैन । यसको साथै बिहान बेलुका माछा मार्ने जालमा गोटी लगाउने र माछा मार्न खोलामा जार्ने गरेको उहाँ बताउनुुहुन्छ ।

काठमाण्डौमा ठेलामा व्यापार गर्दै आइरहनुभएका तामाङले घल्याङ बुन्ने काम बाल्यकालमा गरेपनि काठमाण्डौ छिरेपछि छोड्नुभएको थियो । लकडाउने घल्याङ बुन्ने अवसर फेरि जुराइदिएको उहाँ बताउनुहुन्छ ।  

डोटीको शिखर नगरपालिका वडा नम्बर ११ का दीपक बलायर सरकारले लकडाउनको घोषणा गरेपछि घर फर्कनुभयो । चैत १२ गते घर जानुभएका बलायर २० दिन सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेपछि अहिले घरायसी काममा व्यस्त हुनहुन्छ । नयाँ बानेश्वरमा रहेर त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत उहाँ अहिले खेतीपातीको कामसँगै खोलामा माछा मार्ने गर्नुभएको छ ।

दशैँजस्तो भएको छ

त्यसैगरी खोलामा पौडी खेल्ने र घरमा पढ्नेलेख्ने काममा उहाँको समय बितिरहेको छ । यसको साथै कहिलेकाहीँ छरछिमेकमा कोरोना लाग्न नदिन के गर्ने भन्ने विषयमा जानकारीसमेत गराउँदै आइरहनुभएको छ । कोरोनाको कारण मनमा डर भएपनि आफूलाई फेरि एक पटक गाउँले जीवनमा फर्काएको उहाँको भनाइ छ । 
धादिङकी सुनिता लम्साल (दुवाडी) पनि लकडाउन सुरु भएदेखि घरमै हुनुहुन्छ ।

धादिङको सदरमुकाम धादिङबेसीमा बस्ने सुनिता अहिले खेतीपातीलगायतका काममा व्यस्त हुनुहुन्छ । धानको बिउ राख्ने, मकै गोड्नेलगायतका काममा उहाँको दैनिकी बितिरहेको छ । कहिलेकाहीँ उहाँ बाख्रा गोठालो जाने गर्नुहुन्छ । उहाँ छोरीलाई पढाउन धादिङबेसीमा बस्दै आउनुभएको थियो । ‘घरमै काम गर्न भ्याइनभ्याइ छ,’ उहाँ भन्नुहुन्छ,  ‘तनाब लिन पनि फुर्सद छैन ।’ 

ओखलढुङ्गाका सरोज खतिवडा पनि यतिबेला गाउँमै हुनुहुन्छ । मोलुङ गाउँपालिका स्थायी घर भएका खतिवडा काठमाण्डौको बालकोटमा रहेर एलएलबीको अध्ययन गर्दै गर्नुहुन्थ्यो । खतिवडा भन्नुहुन्छ, ‘लामो समयदेखि देखभेट नभएका साथीहरु पनि गाउँ फर्कनुभएको छ । दशैँजस्तो भएको छ । अहिले खेतीपातीको चटारो पनि छ । धानको बिउ राख्ने बेला हुन लागेको छ ।

यस्तै मकै गोड्ने र गोठालो जानेलगायतका काममा पनि उहाँ व्यस्त हुनुहुन्छ । घरायसी काममा बुबाआमालाई सहयोग गर्नुभएको छ । फुर्सदको समयमा किताब पढ्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘समाचार सुनेन भने यहाँ कोरोनाबारे पत्तो नै हुँदैन । तर के गर्नु समाचार सुन्ने र पढ्ने काम नगरी बस्नै सकिँदैन ।’ आफूले घर छोडेको १० वर्ष भएको र बाल्यकालमा हुने खेतीपातीको मेलो र रमाइलो अहिले फेरि फर्किएर आएजस्तो लाग्ने उहाँ बताउनुहुन्छ । खतिवडा भन्नुहुन्छ, ‘यो पटक मौसमले साथ दिएमा अन्नबाली गएका वर्षको तुलनामा बढी नै फल्छ होला ।’

चिन्ता रोजगारीको 

कोरोनाले धेरैलाई गाउँमामात्रै होइन, थोरै समयलाई भएपनि गाउँले जीवनमा पनि फर्काएको छ । दशैँमा टीका थाप्न र आफन्तहरुको मन राख्न गाउँ फर्कने गरेकाहरुलाई लकडाउनले केही दिन भएपनि ढुक्कसँग गाउँमा बस्ने बनाएको छ । सहरमा कान फुटाउने होहल्ला, नाक नथुनी नहुने धुँवाधुलो र आलु किन्दा तालुमा पोल्ने महँगीबाट राहत पाएर खुसी भएकाहरुमा एउटै चिन्ता देखिन्छ रोजगारी र आयआर्जनको ।

गाउँ पसेका धेरैलाई आफूले काम गर्दै गरेको ठाउँमा फेरि काम पाइन्छ कि पाइँदैन र नपाइए भविष्यमा जीवन धान्न आयआर्जन कसरी गरिएला भन्ने चिन्ताले पोल्न सुरु गरेको छ । 

संवैधानिक रुपमा देश सङ्घीयतामा गइसकेको छ । केन्द्रमा सीमित साधान, स्रोत र सामथ्र्यलाई देशको विकट गाउँ/बस्तीसम्म पुर्याउनु सङ्घीयताको उद्देश्य हो । यो समयमा राज्य संयन्त्रले कोरोनाको कारण गाउँ पसेका नागरिकहरुका लागि गाउँमै आयआर्जनको व्यवस्था मिलाउन र सानोतिनो रोजगारीको लागि गाउँ छोड्न नपर्ने वातावरण निर्माण गर्नुपर्दछ । यही सङ्घीयताको सफल कार्यान्वयनको प्रवेश बिन्दु हुने छ । 

हाम्रोजस्तो कृषि प्रधान र गाउँ प्रधान देशमा अहिले गाउँमै रमाउन खोजिरहेका मानिसहरुलाई त्यहीँ सहज जीवन यापनको व्यवस्था गर्नु राज्यको लागि ठूलो अवसर पनि हो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया