म्याग्दी : हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका वडाध्यक्ष धरौटीमा रिहा

 बैशाख ३१, २०७७ बुधबार ९:१४:२४ | रासस
unn.prixa.net

म्याग्दी - हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो । २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बाह्रबोरको गोली बरामद गरेको थियो । 

हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । अदालतको आदेशानुसार शेरपुजा दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनुभयो । जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र रु ७० हजार जरिबानाको माग दावी गरेको थियो । 

शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बन्नुभएको थियो । स्थानीय चुनावअघि कांग्रेसमा प्रवेश गरेका शेरपुजा रघुगङ्गा पालिका कार्यसमितिको सचिवसमेत हुनुहुन्छ ।

कानूनी व्यवस्था अनुसार फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नहुँदासम्म उहाँको पद निलम्बन हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया