स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी बजेट ल्याउन सुझाव

 वैशाख ३१, २०७७ बुधबार २०:४१:५३ | रासस

काठमाण्डौ – कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आउँदो आर्थिक वर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । 

खाडी देश तथा मलेसियामा रहेका कामदार फर्कन तयार रहेको सन्दर्भलाई विशेष ध्यानमा राखेर उनीहरुलार्ई कृषि क्षेत्रमा लगाउने र आत्मनिर्भरताको मार्गमा अगाडि बढाउने गरी कार्यक्रम जरुरी रहेको भन्दै उहाँहरुले सीप, क्षमता तथा आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम जरुरी रहेको सांसदको भनाइ छ । 

विदेशमा सिकेको सीपले देशभित्रै स्वरोजगार बनाउने, आत्मनिर्भरताका लागि थप प्रेरित गर्ने भएकाले देशलाई थप सबल बनाउने स्पष्ट पार्दै सांसदहरुले साना तथा मझौला उद्योगको विकास र विस्तार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै केही सांसदले नेपाल भारत सीमा क्षेत्रमा लगातार हस्तक्षेप भइरहेकोप्रति सरकारको ध्यानकर्षण गराउँदै समस्या समाधानका लागि खुट्टा नकमाउनसमेत अनुरोध गरेका छन । 

प्रतिनिधिसभाको बुधबारको वैठकमा पनि  ‘आर्थिक वर्ष  २०७७/०७८को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँहरुले कोरोना कहरसँग जुध्न प्रभावकारी आर्थिक उन्नयनको कार्यक्रम जरुरी रहेको बताउनुभयो । 

छलफलमा भाग लिँदै सांसद लक्ष्मी परियारले कोभिड–१९ को बहुपक्षीय प्रभावलाई ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । 
उहाँले कोभिडको सङ्क्रमण फैलन नदिन र यसबाट नागरिकलाई सुरक्षित बनाउन परीक्षण दायरा फराकिलो बनाइनुपर्ने, विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

सांसद प्रमिला राईले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवालाई स्वदेश फर्केपछि कृषि उत्पादनलगायत क्षेत्रमा रोजगारी आकर्षित गर्नेजस्ता कार्यक्रमलाई आगामी बजेटले सम्बोधन गरिनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन र रोजगार प्रवद्र्धनका साथै मुलुकको स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि प्राथमिकता दिन जरुरी भएको बताउनुभयो ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया