गृह मन्त्रालय भन्छ : अत्यावश्यक बाहेकलाई नाकामा रोकिएको छ, अब एक जिल्लाको पासले अर्को जिल्ला जान पाइँदैन

उपत्यकाका तीन जिल्लामा भने लागू नहुने

 जेठ ३, २०७७ शनिबार ११:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना भाइरसको जोखिम बढेपछि लकडाउनलाई कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट विगतमा दिइएको एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने सबै गाडीको पास रद्द भइसकेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार आजदेखि जिल्ला भित्रका लागि दिइएको पास पनि रद्द गरिएको छ । उहाँका अनुसार अति आवश्यक परेर आवतजात गर्ने परे कारणसहित सम्बन्धित व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी नयाँ पास बनाउन सक्नेछन् । 

काठमाण्डौ उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौको वेवसाइट http://daokathmandu.moha.gov.np/ मा रहेको सूचनामार्फत सम्बन्धित नियामक निकायमा सम्पर्क गरेर नयाँ पास बनाउन सकिने गृह मन्त्रालयले जनाएको छ । 

एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने पास पनि अब रद्द भएको छ । शनिबारदेखि एउटा जिल्लाका लागि लिइएको पासले अर्को जिल्लामा प्रवेश पाउने छैन । तर काठमाण्डौ उपत्यकामा भने यो नियम लागू हुनेछैन । 

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका जुनसुकै जिल्लाको पास भए पनि उपत्यकामा आवतजावत गर्न पाइने छ । तर यी जिल्लाका लागि गाडीको पास आवश्यक भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्नेछ । 

यस्तै, विभिन्न नाका भएर शनिबार बिहान २ सय ६० यात्रु काठमाण्डौ भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगा, बालाजु, भक्तपुर र दक्षिणकालीको नाका हुँदै आज बिहान मात्रै २६० जना यात्रु काठमाण्डाै भित्रिएका छन् । 

यस्तै, पास भएका ५२ वटा गाडी काठमाण्डाै छिरेका ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । तर,विभिन्न नाका हुँदै आएका मोटरसाइकलसहित ७५ वटा गाडीलाई भने फर्काइएको छ । गृह मन्त्रालयले पास नभएका गाडीलाई अनुमतिमा निषेध गरेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार अत्यावश्यक काम परेकालाई मात्रै पास उपलब्ध गराइने छ । आफूखुसी ओहोरदोहोर गर्नेलाई रोक्न नाकासँग जोडिएका सम्बन्धित पालिकालाई निर्देशन  दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया