प्रदेश २ काे सबै जिल्लामा कोरोना सङ्क्रमण देखियाे, अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्न निर्देशन

 जेठ ३, २०७७ शनिबार १५:१६:३८ | रासस
unn.prixa.net

महाेत्तरी – प्रदेश नम्बर २ का आठ वटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । शनिबार बिहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमणबाट प्रभावित बनेका हुन् । सिरहामा शनिबार पहिलो पटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर २ काे स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा स्वाब परीक्षण गरिएकामध्ये यस प्रदेशका चार जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सिरहामा एक, पर्सामा दुई र सर्लाहीका एकसमेत चार जनामा सङ्क्रमण पुष्टि भएकाे निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

पछिल्लो तथ्याङ्कसँगै प्रदेश नम्बर २ मा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । तीमध्ये पर्साका सर्वाधिक बढी ९१, धनुषाका चार, रौतहट, बारा र सर्लाहीका तीन–तीन, महोत्तरीका दुई र सप्तरी र सिरहाका एक/एक जना छन् ।

कोभिड–१९ रोकथाम अभियान अन्तर्गत यस प्रदेशमा शुक्रबारसम्म चार हजार नाै सय ८० को स्वाब सङ्कलन गरिएको छ । गएकाे बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनभित्र एक हजार ४४ जनाको स्वाब सङ्कलन भएको उहाँले बताउनुभयो । अहिलेसम्म स्वाब सङ्कलन गरिएमध्ये तीन हजार नाै सय २४ को जाँच नतिजा आइसकेको र त्यसमा एक सय आठ जना पोजेटिभ पाइएका हुन् । एक हजार ५२ जनाको नतिजा आउन बाँकी छ ।

सीमा क्षेत्रको आवत जावत मात्र नभएर एउटै पालिकाका एक बस्तीबाट अर्को बस्तीमा पनि आवागमनमा कडाइ गरिएको छ । अनावश्यक हिँडडुल गर्ने जोसुकैलाई कारबाही गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आठवटै जिल्लामा निर्देशन गरेपछि थप कडाइ बढाइएको हो । प्रदेशमा जोखिम बढ्दै जाँदा आइसोलेशन शय्याकाे अभाव खट्कँदै छ ।

प्रदेशमा वीरगञ्जकाे नारायणी अस्पतालमा ५०, प्रादेशिक अस्पतालमा ४२ र वीरगञ्जकै पोखरियामा आठ शय्या छन् । अहिले सङ्क्रमित नै एक सय आठ पुगेपछि शय्या तत्काल थप्नुपर्ने आवश्यकता देखिएकाे छ । महोत्तरीको जलेश्वर अस्पताल, सप्तरीको राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल र बाराको कलैया अस्पतालमा कोभिड–१९ उपचारका लागि थप शय्या व्यवस्था गर्ने भनिए पनि ती अस्पताल यस प्रयोजनमा अझै सञ्चालन हुनसकेका छैनन् ।

प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वरेण्टीन प्रक्रिया सघन गरिनुपर्ने विज्ञले सुझाएका छन् ।

प्रदेशमा भर्खरै दुई क्वरेण्टीन केन्द्र थपेर एक सय ८१ बनाइएको छ । चार हजार दुई सय ६७ यस्ता शय्यामा अहिले एक हजार नाै सय १५ जना रहेका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वरेण्टीनमा रहनेको सङ्ख्या चार हजार ६ सय ८८ रहेको निर्देशनालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया