निजी क्षेत्र भन्छ : सरकारको आश गरौँ, भर नपरौँ

 जेठ ३, २०७७ शनिबार १७:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले शुक्रबार सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ ।

सरकारले निजी क्षेत्रको लागि केही दिन लागेको जस्तो पनि देखिएको तर केही पनि नदिने हो कि भन्ने डर रहेको पनि निजी क्षेत्रका विभिन्न छाता सङ्गठनका प्रतिनिधिले बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको भिडिओ अन्तर्क्रियामा उनीहरुले नीति तथा कार्यक्रममा उत्साहित हुने गरी निजी क्षेत्रको लागि खास प्याकेज नआएको र आफूहरुले बजेटसम्म पर्खने बताएका हुन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको माग अनुसार नीति तथा कार्यक्रमा समेट्न नसकेको र र निजी क्षेत्र उपेक्षामा पर्दा त्यसले सम्पूर्ण नेपाल नै अप्ठ्याराेमा पर्ने बताउनुभयो । 

‘हाम्रो फाइदाको लागि मात्रै हामीले सरकारसँग राहत प्याकेज माग गरेका होइनौँ । हाम्रो व्यवसाय पनि जीवित रहोस्, मजदुरको रोजगारी नगुमोस्  र सरकार पनि अप्ठ्यारोमा नपरोस् भन्ने हिसाबले हाम्रो माग राखेको हो’, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नुभयो, ‘हामीले राहत प्याकेज माग गर्दा नकारात्मक दृष्टिले मात्र नहेरौँ । निजी क्षेत्र उठ्न सकेन भने देशको कुन क्षेत्र उभो लाग्छ ?’

भारतले साना उद्योगमा रहेका मजदुरको तलब आफैँ दिने घोषणा गरेको र नेपालजस्तै जीडीपी भएका देशले निजी क्षेत्रलाई धेरै प्याकेज दिएको तर नेपाल सरकारले खासै ध्यान नदिएको उहाँको गुनासो छ । 

यस्तै नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष विष्णु अग्रवालले लकडाउनको बेला निजी क्षेत्रले सरकारलाई धेरै नै सहयोग गरेकाले अब सरकारले हेरिदिनुर्ने बताउनुभयो ।

‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको लागि धेरै विषय आएको देखिएन, जबसम्म निजी क्षेत्रको भूमिकालाई खुम्च्याइन्छ या महत्व दिइँदैन, तबसम्म सरकारको क्षमता पनि बढ्दैन’, अग्रवालले भन्नुभयो । 

यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले आशा देखाएको तर भर गर्ने ठाउँ नरहेको बताउनुभयो । ‘सरकारले आशा गर्ने भर नपर्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ, हामीलाई कुनै पनि ठाउँमा सरकारले टेवा दिएको छैन । दुई प्रतिशत ब्याज घटाउनेबाहेक अरु केही गरेको छैन । नीति तथा कार्यक्रममा उत्साहित हुने खास कुरा देखिएन ।’

अर्न्तक्रियामा घरेलु तथा साना उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगलाई केही राम्राे व्यवस्था आएको, नयाँ व्यवसाय गर्न चाहनेलाई पनि सरकारले प्याकेज ल्याएको बताउनुभयो ।

तर आफूहरुले अपेक्षा गरे अनुसार भने नीति तथा कार्यक्रम नआएको उहाँको भनाइ छ । ५३ बुँदामा सुझाव दिएकोमा १२ वटा बुँदालाई नीति तथा कार्यक्रमले छोएको कार्यवाहक अध्यक्ष सिँहको भनाइ छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया