कैलाली : पालिकामा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सारिँदै

 जेठ ४, २०७७ आइतबार ११:१८:३१ | रासस
unn.prixa.net

कैलाली - सरकारले पालिकहरुमा रहेका सशस्त्र प्रहरी बललाई सुरक्षाका लागि सीमामा राख्न थालेको छ ।

सीमामा प्रहरी राख्न थालेपछि स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर खाली गरिएका छन् । यसैक्रममा जोशीपुरमा रहेको सशस्त्र शिविर शुक्रबार राति भजनी सीमामा सारिएको छ भने प्रतापपुरमा रहेको शिविर पनि एक दुई दिनमा सार्ने तयारीमा रहेको बुझिएको छ ।

लकडाउनकै समयमा सरकारले नाका र सीमा सुरक्षामा कडाइ गरेको छ । पछिल्लो एक महिनामा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको छ । सरकारले कैलाली चार स्थानमा बिओपी र ४८ स्थानमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा आधार शिविर राखेको छ ।
 
यसरी सीमामा ६ सय ४० प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल ७ नं बाहिनी मुख्यालयले जनाएको छ । स्रोतका अनुसार सीमामा राखिएका बीओपी र कैलालीका स्थानीय तहमा भएका आधार शिविरमा २०० प्रहरी थिए भने ४ सय ४० जना पहाडी जिल्लाबाट झिकाइएका हुन् ।
 
एउटा चौकीमा १० देखि ३५ प्रहरी खटाइएको छ । कैलालीको सीमा १ सय १ किलोमिटर रहेको छ । सीमाबाट अनधिकृतरूपमा भारतबाट मानिस आउन थालेपछि र अतिक्रमण बढेपछि स्थानीय सरकारले सीमामा सशस्त्र प्रहरी खटाउन माग गर्दै आएका थिए ।

‘टीकापुर–८ श्रीलङ्कामा सीमा सुरक्षामा चुनौती बढ्दै गएको थियो, हामीले बीओपी स्थापना गर्न माग गरेका थियौँ । सरकारले अस्थायी जाँचचौकी स्थापना गरेको छ’, वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, ‘अस्थायी जाँचचौकीले पनि सीमा सुरक्षालगायत शान्ति सुरक्षाका सवालमा धेरै राहत भएको महसुस गरेका छौँ ।’

स्थानीय तहमा भएका शिविर खाली गरिएपछि स्थानीय जनता भने चिन्तित भएका छन् । जोशीपुर क्षेत्रमा शान्ति सुरक्षाको चुनौती भएकै अवस्थामा सरकारले सशस्त्र शिविर हटाउन नहुने स्थानीयवासीको माग छ ।

‘शान्ति सुरक्षा चुनौती यथावत छ । सशस्त्र प्रहरी अन्यत्र नलग्नुपर्ने’, पूर्वगाविस अध्यक्ष वीरबहादुर हमालले भन्नुभयो, ‘सशस्त्र प्रहरीकै कारण जनताले राहत महसुस गरेका थिए । सशस्त्र गएपछि स्थानीय नागरिक भने दुःखी भएका छन् ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया