कोरोना सङक्रमितले भरिए अस्पताल

 जेठ ४, २०७७ आइतबार २०:१०:१५ | रासस
unn.prixa.net

रुपन्देही – रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको कोरोना विशेष भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । 

प्रदेश नम्बर ५ सरकारले कोरोना विशेष अस्पतालका रूपमा स्थापना गरेको २७ शय्याको यस अस्पताल अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट नवीन दर्नालले जानकारी दिनुभयो ।

कुल २७ शय्या रहेको अस्पतालमा पाँच आईसीयू र तीन भेन्टिलेटर शय्या रहेको छ भने बाँकी साधारण शय्यामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आईसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप शैय्याको आवश्यकता देखिएको छ ।

अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कुल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । 

चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताउनुभयो । सबै बिरामी पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन् ।

सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् । अस्पतालको आइसोलेशन शय्या भरिएपछि आपत्कालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया