बाँकेका मृतक युवकमा कोरोना सङ्क्रमण पुष्टिसँगै नरैनापुर बन्द

 जेठ ४, २०७७ आइतबार १८:५९:३६ | रासस
unn.prixa.net

बाँके – क्वरेण्टीनमा ज्यान गुमाएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर बन्द गरिएको छ ।  

सदरमुकाम नेपालगञ्जदेखि झण्डै ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवत जावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ ।यस कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख  छ । 

गएकाे वैशाख ३० गते भारतकाे मुम्बईबाट बाँके आएलगत्तै ती  युवकलाई क्वरेण्टीनमा राखिएको थियो । नरैनापुर ५ मटेहियाको भगवानपुरको दीपेन्द्र प्राविमा रहेको क्वरेण्टीनमा बस्दै आएका वडा नम्बर ५ निवासी युवकले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाको पीसीआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वरेण्टीनमा थिए । सङ्क्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वरेण्टीनबाट शनिबार दुई सय ६३ को स्वाब सङ्कलन गरिएको थियो । 

सङ्कलित स्वाबको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको ज्यान गएकाे थियो । भेरी अस्पतालको आरडीटी पीसीआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाटर प्रकाश थापाले जानकारी दिनुभयो ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले ज्यान जानुकाे कारण पीसीआर रिपोर्ट पोजेटिभ भएकाले त्यही अनुसार अन्त्येष्टि गरिने बताउनुभयो ।

पीसीआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वरेण्टीनमै राखिएको थियो । क्वरेण्टीनमा ज्यान गएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन् । यस क्वरेण्टीनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो ।  

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका ७ का एक, ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना सङ्क्रमित छन् । तीमध्ये २५ को बाँकेको खजुरामा रहेकाे कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया