सिसडोलमा फोहोर लैजान नदिए बल प्रयोग हुन्छ : प्रजिअ दाहाल

 जेठ ५, २०७७ सोमबार १३:५७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नुवाकोटको ककनी गाउँपालिकाले सिसडोलमा काठमाण्डौ उपत्यकाको फोहोर विर्सजन गर्न नदिने बताएपछि काठमाण्डौ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आपत्ति जनाएका छन् ।

ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बहानामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको छ । 

‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना सङ्क्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले भन्नुभयो, ‘ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको सूचना जारी गरेको छ । फोहोर बोक्ने गाडी अत्यावश्यक भित्रै पर्छन् । तर, सवारी आवत–जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको छ ।’ 

काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताउनुभयो ।

‘ककनी गाउँपालिकाले विज्ञप्ति नै निकालेर सवारी आवत–जावतमा रोक लगाई सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘विभिन्न बहानामा लकडाउनका बेला फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन । मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु । तर, फोहोर नै रोक्ने कुरा हुँदैन ।’ 

दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फहोरो विसर्जन गर्ने बताउनुभयो ।

‘पहिलो कुरा फोहोर विसर्जनमा अवरोध गर्न पाइन्न् । स्थानीयका माग सम्वोधन गर्ने कुरामा महानगरपालिका प्रतिवद्ध छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यज्युसँग पनि पटक–पटक कुरा हुँदा उहाँ पनि सकारात्मक रहेको जानकारी पाएको छु । हामी पनि उहाँहरुको माग सम्वोधनका लागि पहल गर्छौ,’ उहाँले भन्नुभयो, ‘यति हुँदाहुँदै  उहाँहरु फोहोर विसर्जनमै अवरोध गर्ने भन्नुहुन्छ भने बल प्रयोग गरे भए पनि फोहोर विसर्जनको प्रक्रिया अघि बढ्छ ।’ 

दाहालले त्यहाँका जनप्रतिनिधिले स्थानीयको स्वस्थ्य परिक्षणको माग गर्नुभएको जानकारी पाएको भन्दै त्यो मागप्रति सकारात्मक रहेको भन्दै मागका नाममा फाहोर विसर्जनमै अवरोध गर्ने कुरा उचित नहुने तर्क गर्नुभयो । 

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले भने सिसडोलबासीले कोरोना सङ्क्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिनुभयो ।  काठमाण्डौ उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • Aavash Bhandari

    May 18, 2020, 2:49 p.m.

    हातमा भएपछी बल प्रयोग त भै हाल्छ नि

  •  0 Reply

तपाईको प्रतिक्रिया