अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – राेजगारीकाे सिलसिलामा भारतका विभिन्न शहर गएका डोटेलीहरु अहिले जिल्ला फर्किएका छन् । उनीहरुलाई पालिकाले क्वरेण्टीनमा राख्न थालेका छन् ।
उनीहरुलाई क्वरेण्टीनमा राखिए पनि कोरोना भाइरसको जाँच गर्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट नभएका कारण उनीहरुकाे परीक्षण हुन सकेकाे छैन । जिल्लामा शुक्रबारसम्म पाँच सयभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जसमा दुई सय जना केआईसिंह गाउँपालिकाका मात्रै रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डा चौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई बिहीबार जिल्लाका नौ वटै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर जिल्लामा ल्याएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भारतमा रहेका जिल्लाका नागरिक विभिन्न नाकामा आइपुगेपछि हामीले आफै गएर उनीहरुको उद्धार गरेर क्वरेण्टीनमा राखेका छौँ, कोरोना सङ्क्रमण फैलिन नदिन सम्पूर्ण सावधानी अपनाइएको छ ।’
भारतबाट आएका नागरिकलाई विना जाँच क्वरेण्टीनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ तर विना जाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।’
जिल्लाका पालिकाले निर्माण गरेका क्वरेण्टीनहरु विश्व स्वास्थ्य सङ्गठनकाे मान्यता अनुसार नभएकाे तथा क्वरेण्टीनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्रीसमेत नभएकोले समस्या हुने स्थिति देखिएको जोरायल गाउँपालिका ५ का सर्वजित देउवाले बताउनुभयो।
जिल्ला अस्पताल डोटीमा कोरोना भाइरस (कोभिड-१९) को जाँच गर्ने आरडीटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई विना जाँच क्वरेण्टीनमा राखिएको दिपायल सिलगढी नगरपालिका २ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
उहाँको वडाका मात्रै ३० जना नागरिक भारतका विभिन्न शहरबाट काम गरेर घर फर्किएका छन् । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वरेण्टीनमा राखिएकाहरु भने निकै खुसी भएका छन् ।
भारतमा कष्टपूर्ण जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन सकिने दिल्पेश्वर माविको क्वरेण्टीनमा राखिएका दिपायल सिलगढी नगरपालिका ३ बाँफीका नरेन्द्र साउदले बताउनुभयो । कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीहरुलाई दुःख दिइने र गाली गर्ने परिपाटी बढेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।