आज एकैदिन ६८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

 जेठ १०, २०७७ शनिबार १९:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाँकेमा २७ जनासहित आज एकैदिन ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या पाँच सय ८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके नरैनापुरका २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नरैनापुर मदरसाका १७ देखि ३२ वर्षका ६ जना, नरैनापुर राष्ट्रिय प्रावि गेगलीका १६ देखि ३२ वर्षका १५ जना र राष्ट्रिय प्रावि महातानियाका २२ देखि ५० वर्ष उमेर समूहका ६ जनालाई सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका चार जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना २० वर्षका छन् भने २२ र २७ वर्षका एक/एक जना रहेकाे मन्त्रालयले जनाएको छ । 

उनीहरुमा चारै जनामा आरडीटी पोजेटिभ भएपछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो । त्यस्तै सुर्खेतमा दुई जना पुरुष र एक जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

बर्दिया बडैयाताल ७ का एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका आठ/आठ, बारा चितवन र काठमाण्डाैका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७९ जना उपचारपछि निको भएको छन् भने तीन जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया