अस्ट्रेलियाको क्यानबेरामा नेपाल एअरलाइन्सको ऐतिहासिक उडान

 जेठ २६, २०७७ सोमबार १८:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - नेपाल एअरलाइन्सले अस्ट्रेलियाको क्यानबेरामा ऐतिहासिक उडान भरेको छ । 

गएको चैत र वैशाखमा अस्ट्रेलियाको सिड्नी र ब्रिसबेनको उडान भरेको नेपाल एअरलाइन्सको वाइडबडी जहाजले सोमबार क्यानबेराको उडान भरेको हो । काठमाण्डौ-क्यानबेरा नेपाल एअरलाइन्सको पहिलो उडान हो । 

लकडाउनको कारण नेपालमा रोकिएका अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका नेपाली मूलका अस्ट्रेलियाली नागरिकसहित २ सय ७२ जना यात्रु बोकेर नेपाल एअरलाइन्सको वाइडबडी क्यानबेरा उडेको हो । जहाजमा २४ जना चालक दलका सदस्य थिए ।

जहाज नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले चार्टर्ड गरेको  हो । जहाज मलेसियाको क्वालालाम्पुरलाई ट्रान्जिट बनाएर क्यानबेरा पुग्नेछ । नेपाल एअरलाइन्सले यसअघि वैशाख २४ गते अस्ट्रेलियाको सिड्नीमा र चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । 

नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन । यस्तो बेलामा अष्ट्रेलियाका ३ वटा सहरमा चार्टर्ड उडान भरेको नेपाल एअरलाइन्सलाई नियमित उडानको लागि छलफल गर्न थप सहज भएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया