‘बजेट निर्माणको क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने’

 जेठ २८, २०७७ बुधबार १८:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणको क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने बताउनुभएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विद्युतीय सवारीको कर बढाउने विषयहरु चुहावट भए नभएको छानविन गर्न सकिने बताउनुभयो ।

सांसदहरुले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतीय सवारी साधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए । अर्थमन्त्री खतिवडाले जेठ १ गतेदेखि ७ गतेसम्म ७५ वटा र १६ गते १९ वटा विद्युतीय गाडी भन्सारबाट छुटेको र कुनैपनि व्यावसायिक घरानाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पष्ट पार्नुभयो । उहाँले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानविन गर्न सकिने बताउनुभयो । 

अर्थमन्त्री खतिवडाले करका अङ्कहरु जेठ १४ गते राति मात्रै परिवर्तन हुने भएकोले चुहावट हुने कुनै ठाउँ नरहेको बताउनुभयो । उहाँले आफ्नो दुई दशक लामो राजनीतिक जीवनमा कुनै व्यावसायिक घरानाको लागि काम नगरेको र अब पनि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले बजेट आउनुभन्दा अघि पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरु १ सय ७९ वटा छुटेको बताउनुभयो । 

चकलेटमा कर घटाइएको विषयमा पनि अर्थमन्त्री खतिवडाले प्रस्टीकरण दिनुभएको छ । उहाँले अहिलेको संसद एमसीसी र चकलेटमय बनेको भन्दै त्यस्तो प्रकारले बहस गर्न जरुरी नरहेको बताउनुभयो । उहाँले अघिल्ला वर्षहरुमा चकलेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तःशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गरिएको स्पष्ट पार्नुभयो । अहिले पनि ५४ प्रतिशत इफेक्टिभ रेट रहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया