नेपाल एअरलाइन्सको जहाज चार्टर्डमा भएको ठगी छानबिन हुने,  अब जहाज चार्टर्ड गर्दा भाडा रकम खुलाउनुपर्ने

 जेठ २८, २०७७ बुधबार १७:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल एअरलाइन्सले हङकङ र जापान गरेको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ ।

एयरलाइन्सको जहाज हङकङ र जापानको लागि चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुबाट अस्वाभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको गुनासो आएको भन्दै मन्त्रालयले छानबिन समिति गठन गरेको हो । 

यो विषयमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के आधारमा के कति भाडा लिएको भन्ने सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजक रहेको समितिमा मन्त्रालयका उपसचिव राजन नेपाल, पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य रहेका छन् । 

यस्तै अब जहाज चार्टर्ड गर्न यात्रुको नामावली र भाडादर स्पष्ट खुलाउनुपर्ने भएको छ । चार्टर्ड जहाजमा कमिशनको खेल भएको र यात्रुलाई मर्कामा पारिएको गुनासोपछि मन्त्रालयले यसबारेमा मापदण्ड बनाएको छ । 

मन्त्रालयका अनुसार आउँदा दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि चार्टर्ड गर्न लागिएको हो, यस देशको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्विकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिनुपर्नेछ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य देशमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया