४२ जना कोरोनाका बिरामी थपिए, सङ्क्रमितको सङ्ख्या ५ हजार १०९ पुग्यो

 जेठ ३१, २०७७ शनिबार १४:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - नेपालमा ४२ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, रोल्पाका १७ र बर्दियाका ६ जना गरी ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका तीन र नेपालगञ्ज उपमहानगरपालिकाका एक जनामा सङ्क्रमण देखिएको छ ।

यसैगरी बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनिलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका पाँच जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि आज बिहान गण्डकी प्रदेशमा पाँच जना नयाँ बिरामी थपिएका थिए । पर्वतको कुश्मा नगरपालिकाको क्वरेण्टीनमा बसेका ६ वर्षका बालकसहित चार पुरुष र एक महिला गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश सरकारले जनाएको छ । 

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय नौ पुगेको छ । आज भेटिएका नयाँ बिरामीबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

यसैबीच बाराका पाँच बर्षीय बालकको कोरोना सङ्क्रमणको कारण ज्यान गएको पुष्टि भएसँगै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । निमोनिया भएपछि हिजो वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका निजगढ नगरपालिका ६ योजना टोलका पाँच बर्षीय बालकको हिजो बेलुकी ज्यान गएको हो ।

उनको अवस्था बिग्रिएपछि अस्पतालको भेन्टिलेटरमा लैजान गरिएको आरडीटी परीक्षण पोजेटिभ आएपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको नारायणी उपक्षेत्रीय अस्पतालले पुष्टि गरेको छ । कोरोनाको कारण बालकको ज्यान गएपछि शव नेपाली सेनालाई जिम्मा लगाइएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बारामा यसअघि पनि एक जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।

बालकको ज्यान गएपछि निजगढ बजार पूर्णरुपमा बन्द गरिएको छ । अहिले बालकको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको र उनीहरुलाई क्वरेण्टीनमा राख्ने तयारी भइरहेको नगर प्रमुख सुरेश खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया