एक महिलाले उठाएकाे आवाजलाई राष्ट्रियताको नाममा अस्वीकृत गरियाे : सांसद गिरी

 जेठ ३१, २०७७ शनिबार १६:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताउनुभएको छ ।

संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिनुभएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफूमाथि जातीय विभेद राखेर आक्रमण गरिएको बताउनुभयो । उहाँले एक जना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाममा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृत्तिले बङ्गलादेशमा जस्तै महिला जागृत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'यो राष्ट्रियताका नाममा एक जना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ, यदि यसलाई तपाईँहरुले चेक गर्नुभएन भने बङ्गलादेशकाे निर्माण कसरी भएकाे थियाे भन्ने कुरालाई नबिर्सनुहाेस् । बङ्गलादेशको निर्माण महिलाहरुले गरेका हुन् । किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए । बोर्सनिया, हर्जगोभिना सबै । जब जातीय भावनामा राष्ट्रियता ल्याएर कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ, यदि त्यसमा हामी बेलैमा सचेत भएनौँ भने यसको परिणाम देशकाे राष्ट्रिय एकताकाे लागि र देशकाे राष्ट्रियताको लागि हुँदैन ।’

सांसद गिरीले आफूले संविधान संशोधनकाे विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइरहेकाे समेत बताउनुभयो । आफूले संविधान संशोधनकाे क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने वा युद्धकाे मैदानमा उत्रनुपर्ने दुई विकल्पमात्रै रहेको र आफू महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताउनुभयो । 

सांसद गिरीले आफूले कुन विचार र मनशायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताउनुभयो । उहाँले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभइ संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताउनुभयो ।

उहाँले संविधानमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने त्याे सन्धिमा मधेशमा रहेका नागरिकलाई भेदभाव गर्न पाइने छैन भन्ने उल्लेख भएकाेले त्याे जानकारी संसदलाई गराउनमात्र खोजेको दाबी गर्नुभयो । उहाँले १८१६ को सन्धि अनुसार नक्सा संशोधन हुन्छ भने त्यही सन्धि अनुसार नै तराई मधेशसँग भइरहेको विभेद र त्यहाँको समस्यालाई समेत उठाउनुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया