आजदेखि दुई सिफ्टमा सबै सरकारी कार्यालय खुल्दै, कर्मचारीलाई मास्क अनिवार्य

 असार १, २०७७ सोमबार ७:३३:६ | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारको निर्णय अनुसार आजदेखि सबै सरकारी कार्यालय खुल्दै छन् । दुई सिफ्टमा आजदेखि सबै सरकारी कार्यालयमार्फत सेवा दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्टमा खुल्ने छ । कर्मचारीलाई कार्यालयकै गाडीमा ओहोरदोहोर गर्ने व्यवस्था मिलाईएको छ  र निजी साधन हुनेले आफ्नै गाडी प्रयोग गर्न पनि सक्नेछन् । 

सरकारी कार्यालयमा भिडभाड नहोस् भन्नका लागि दुई सिफ्टमार्फत सेवा दिने तयारी सरकारले गरेको हो । कार्यालय जाने कर्मचारीलाई स्वास्थ्य सुरक्षा अपनाउन अनिवार्य गरिएको छ । कर्मचारीले अनिवार्य मास्क लगाउनु पर्ने छ भने स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ । 

यस्तै दूरी कायम गरेर सेवा दिन र बस्दा एउटा कुर्सी छोडेर भौतिक दूरी कायम गर्न भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकले अब सरकारी कार्यालय मार्फत पाउने सबै सेवा पाउने छन् ।

गएको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरे अनुसार कार्यालय खुल्न थालेका हुन् । 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । 

तर, बुधवारको मन्त्रिपरिषद् बैठकले पसल खोल्न दिने तथा काठमाण्डौ उपत्यकालगायतका कोरोना भाइरसको सङ्क्रमण कम देखिएका क्षेत्रमा जोर, बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको थियो । 

त्यहीँ अनुसार काठमाण्डौमा बजार तथा पसल खुलेका छन् भने जोर बिजोर प्रणालीमा निजी गाडी चल्न थालिसकेका छन्  ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया