कोरोनासँगै लामखुट्टे र पानीबाट सर्ने रोगको जोखिम बढ्यो, यी कुरामा ख्याल गरौँ

 असार ३, २०७७ बुधबार ११:५४:४७ | डा. वासुदेव पाण्डे
unn.prixa.net

काठमाण्डाै - वर्षा सुरु भएसँगै धेरै रोगको जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण पनि यसै समयमा उच्च दरले बढिरहेकोले अलि धेरै सावधानी अपनाउनुपर्ने देखिन्छ । सङ्क्रमणको डर जति बढ्दैछ, त्यसका लागि आवश्यक सावधानी पनि त्यति नै धेरै अपनाउनुपर्ने देखिन्छ । 

वर्षायाममा कुन कुन रोगको सङ्क्रमणको डर बढिरहेको छ र त्यसका लागि आवश्यक सावधानी कसरी अपनाउने त ?

लामखुट्टेको टोकाइबाट सर्ने रोग

पानी पर्न थालेकोले अब लामखुट्टेहरु अत्याधिक लाग्ने गर्छ । लामखुट्टेबाट सर्ने रोगहरुबाट हामीले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । गएको वर्ष पनि महामारीको रुपमा डेंगी रोग फैलिएको थियो । यो वर्ष पनि पुसदेखि अहिलेसम्म ९० जनाको हाराहारीमा डेंगीका बिरामी फेला परिसकेका छन् । २६ जिल्लामा रोग फैलिसकेको छ ।

डेंगीसँगै मलेरिया पनि फैलिरहेको छ । क्वरेण्टीनमा बसेका २० जनामा मलेरिया पुष्टि भएको छ । त्यसैले हामीले लामखुट्टेको टोकाइबाट सर्ने जति पनि रोगहरु छन्, त्यसबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता देखिन्छ ।

सर्पदंश र कालाजारकोे पनि डर

वर्षायाममा सर्पदंशको सम्भावना निकै धेरै हुन्छ । खेतबारीको काम गर्नुपर्ने र यसै समयमा सर्पहरु पनि बढी बाहिर निस्कने भएको हुनाले विशेष सावधानी अपनाउनुपर्छ । यस्तै यो मौसममा कालाजारको पनि उत्तिकै डर रहेको छ ।

पानी र फोहोरमैलाबाट सर्ने रोग

यो समयमा आकाशबाट पानी पर्ने भएकोले मुहानको पानी पनि धमिलो भएर आउन सक्छ । विभिन्न सङ्क्रमणका कणहरु पानीसँगै मिसिएर आउने भएकोले पानीबाट विभिन्न रोगको सङ्क्रमण हुन सक्छ । यो समयमा फोहोरमैलाबाट पनि सङ्क्रमणको डर हुन्छ । 

झाडापखाला, टाइफोइड, हेपाटाइटिसजस्ता रोगको सङ्क्रमण बढ्ने खतरा भएको समय हो यो । यो मौसममा पानी धेरै पर्ने भएकोले पानी र फोहोरमैलाबाट बच्न विशेष आग्रह छ ।

क्वरेण्टीनमा बस्नेहरु उच्च जोखिममा 

वर्षायाममा झाडापखाला लगायतका कारण धेरैले ज्यान गुमाउने गरेका छन् । यो वर्ष भने वर्षायाममा नै कोरोनाको सङ्क्रमणदर उच्च गतिमा बढिरहेको छ । 
कोरोनाको सङ्क्रमणदर बढेसँगै अरु रोगको पनि डर भएकोले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

अहिले हजारौंको संख्यामा विदेशमा रहेका नेपालीहरु घर फर्किएका छन् । उनीहरुलाई क्वरेण्टीनमा राख्ने सरकारको रणनीति छ । तर बनेका क्वरेण्टीन पनि स्वास्थ्य मापदण्ड अनुसार बन्न नसक्दा त्यहाँ थप अरु रोगको सङ्क्रमणले समस्या आउने हो कि भन्ने पिरलो बढेको छ । 

क्वरेण्टीनमा बस्ने सबैलाई झुल उपलब्ध गराउन पनि नसकिरहेको समयमा त्यस्ता ठाउँमा सरकारी प्रयास अलि बढाउनुपर्ने देखिन्छ । अहिले नै ध्यान नदिने हो भने कोरोनासँगै अरु रोगको सङ्क्रमणले मरिने डर हुन्छ ।

सबै रोगबाट बच्ने उपाय सरसफाई

हरेक रोगको सङ्क्रमण हुन नदिने पहिलो उपाय भनेकै सरसफाई हो । बेलाबेला हात राम्रोसँग धुने, व्यक्तिगत सफाईमा ध्यान दिने, घर र वरपर सफा राख्नाले पनि कोरोनासँगै अरु रोगको सङ्क्रमणबाट बच्न सकिन्छ । 

यो समयमा लामखुट्टे धेरै लाग्ने भएकोले त्यसबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, झुल प्रयोग गर्ने, पानी सफा गरेर प्रयोग गर्ने गर्नुपर्छ । यो वर्ष क्वरेण्टीनमा अलि धेरै सङ्क्रमणको सम्भावना भएकाले त्यस्ता ठाउँमा किरा फट्याङ्ग्रा नास गर्ने औषधीहरु छर्कनुपर्‍याे । सफा पानी पिउने र झोलिलो पदार्थमा बढी जोड दिने गर्नुपर्‍याे । बासी खानेकुराहरु खानु भएन । यी कुराहरुमा विशेष ध्यान दिएर सावधानी अपनाउनुपर्ने देखिन्छ ।

कोरोना बाहेकका बिरामीको व्यवस्थापन 

कोरोना मात्रै नभइ अरु रोगको सङ्क्रमणको पनि जोखिम उत्तिकै भएकोले रोग नियन्त्रण महाशाखाले सबै जिल्ला, पालिका र क्वरेण्टीन भएका ठाउँहरुमा हामीले विशेष ध्यान दिँदैछौं । 

जस्तै मलेरिया र डेंगीका लागि टेष्ट किटहरु पठाउने, सबै पालिकामा भर्चुअल खालको भए पनि तालिम दिएर उहाँहरुलाई तयारीको अवस्थामा राखेका छौं । केही स्वास्थ्य समस्या परिहाल्यो भने नजिकको स्वास्थ्य संस्थामा गैहाल्नुपर्छ । हामीले आवश्यक तयारी गरिरहेका छौं र तयारी बढाउँदैछौं पनि ।

डेंगीका लागि खासै औषधी छैन

मलेरियाको लागि औषधी भए पनि डेंगीका लागि औषधीको अभाव छ । यसका लागि प्रशस्त झोल पदार्थ पिउने हो । ज्वरो आयो भने प्यारासिटामोल खाने हो । तर पनि ब्रुफिन लगायतका रक्तश्राव बढी गराउने औषधी प्रयोग नै नगरौं भन्छु म । 

गएको वर्ष पनि डेंगी रोग महामारीकै रुपमा फैलिएकोले धेरैजसोलाई यो रोगबारे जानकारी छ । हामीले ल्याबहरु पनि बढाएका छौं । जाँचका लागि हामीलाई खासै समस्या छैन । 

डेंगी लगायतको सङ्क्रमण भयो भने पहिले आफैंले प्राथमिक उपचार गर्न म अनुरोध गर्छु । प्राथमिक उपचारबाट पनि भएन भने नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ । यसरी हामीले जोखिमलाई कम पार्न सक्छौँ ।

कोरोनासँगै अरु सङ्क्रमण भए थप खतरा

नेपालमा कोरोनाका कारण ज्यान गुमाएका भनिएका धेरैजसोमा अरु सङ्क्रमण पनि देखिएको थियो । ६ हजारभन्दा धेरै कोरोना सङ्क्रमितहरुमा केही न केही अरु सङ्क्रमण पनि पुष्टि भैरहेको छ । 

विभिन्न सङ्क्रमणको जोखिमसँगै कोरोना पनि थपिएपछि बिरामी थप समस्यामा पर्ने भएकोले विशेष सावधानी अपनाउन म सबैलाई आग्रह गर्न चाहन्छु ।
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित )
 

अन्तिम अपडेट: चैत ११, २०८०

डा. वासुदेव पाण्डे

डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया