भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक : कांग्रेस नेता अधिकारी

 असार ४, २०७७ बिहिबार १२:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । 

नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उहाँले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताउनुभयो । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडि हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारत भन्छ, हाम्रो संसदले पारित गरेको नक्साबाट हामी फर्कन सक्दैनौँ । किन भने हाम्रो संसदले अनुमोदन गरेको छ । यदि हामीले आज यो नक्सा बनाएनौँ भने स्टाटसको एन्टी कसरी हुन्छ ? पूर्वावस्थामा वार्तामा बस्दा तिम्रो पनि संसदले नक्सा पास गरेको छ, हाम्रो पनि संसदले नक्सा पास गरेको छ भन्न पनि यो जरुरी भयो । फेरि पनि कुरा गर्न पर्‍याे नि भन्न स्टाटसको एन्टीमा पुर्‍याउन पनि यो जरुरी भयो ।’

अधिकारीले आज संसदबाट नक्सा पास गरी भोलि कालापानीमा गएर लड्ने नभइ वार्ताबाट नै सबै समस्या समाधान गरिने बताउनुभयो । नेपालको मूल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागू गर्नुभएको उहाँले बताउनुभयो ।

उहाँले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संयम अपनाउन गरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोलीमा किन तिक्तता ल्याउने? यो आवश्यक छैन । असंयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडि बढाउने हो ।’ 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया