आउँदाे माघसम्ममा काेराेना नियन्त्रणमा आउँछ : प्रधानमन्त्री ओली

 असार ४, २०७७ बिहिबार १८:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे फागुनसम्ममा नेपालमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउने बताउनुभएको छ । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले फागुनसम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताउनुभएको हो । उहाँले साउन महिनाको अन्त्यतिर कोरोना सङ्क्रमणको दर उच्च बिन्दुमा पुग्ने र त्यसपछि ओरालो लाग्ने बताउनुभयो । उहाँले दशैँ, तिहार र छठजस्ता चाडले सङ्क्रमण बढाउने खतरा रहेकाेले मंसिर महिनापछि फेरि सङ्क्रमणको दर बढ्ने भएकाेले पूर्ण नियन्त्रणमा आउन फागुनसम्म लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'साउनकाे अन्त्यसम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौँ । अथवा भदौको सुरुतिर । यो त्यसपछि ओरालो लाग्छ र हामी यसलाई क्रमशः नियन्त्रण गर्न सक्छौँ । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्‍याे । दशैँ, तिहार र छठजस्ता चाडले फेरि सङ्क्रमण बढ्ने अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौँ ? भोलि यो खतराले फेरि हाम्रो ग्राफ बढाइदियो भने मङ्सिरमा फेरि अलिकति मास्तिर जान सक्छ । मङ्सिरको अन्त्यतिरबाट हामीले फेरि त्याे ग्राफलाई तल लान सक्छौँ  र पुस माघसम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौँ । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुन्छ ।'

कोरोनाको आतङ्कले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाेले आतङ्कित नभइ सर्तक हुन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'कोरोनाले कुनै पनि सकारात्मक योगदान गरेन । यसले शारीरिक बिरामी मात्रै होइन मानसिक बिरामी पनि बढायाे । त्रासको कारणले मानिसहरु डिप्रेशनमा जाने । डिप्रेशनका अनेक लक्षणमध्ये एक लक्षण हाे, मरुँ मरुँ लाग्ने । त्यो डिप्रेशनको लक्षणबाट मान्छेहरुले आत्महत्या गर्छन् । सधैँ मान्छेले आत्महत्या गर्दैन ।'

कोरोनाकाे कारण उत्पन्न विभिन्न परिस्थितिकाे कारण मान्छेहरु डिप्रेशनमा गएको बताउँदै उहाँले नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढी भएको भन्दै उपचार पद्धतिको साथै केही टिप्स पनि दिनुभयो ।

उहाँले भन्नुभयो, 'कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु, अब गएँ म भन्ने हो भने त बाँच्छ झन् गाह्राे हुन्छ ।  कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाँच्छिउँ साछ्यु गर्नुपर्छ । तातोपानी खानुपर्छ । उडाइदिनुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ । त्यो भयो भने कारोनाले लान सक्तैन ।' 

उहाँले उपचार विधि र प्रतिरोध क्षमता आदिले कोरोनाका] कारण निधन हुनेको सङ्ख्या निकै कम भएको र सङ्क्रमणको दर पनि अन्य देशको तुलनामा नेपालको स्थिति राम्रो रहेको बताउनुभयो । उहाँले नेपालमा प्रति १० लाखमा शून्य दशमलव ७ प्रतिशत सङ्क्रमित रहेकोे बताउनुभयो । उहाँले सङ्क्रमितहरु बढ्दै गएको देखिए पनि समुदायमा सङ्क्रमण कमी नै रहेको बताउनुभयो ।

उहाँले नेपालमा बाहिरबाट आउनेको सङ्ख्या सँगै सङ्क्रमित भएर आउनेहरुको सङ्ख्या पनि ठूलो भएकाेले एकै पटक उनीहरुको व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण नभएको बताउनुभयो । उहाँले चैतदेखि भारतबाट नेपाल आउने नागरिकहरुको सङ्ख्या नै बढी भएकाेले समस्या भएको बताउनुभयो । उहाँले ठूलो सङ्ख्यामा बाढी जसरी आएकाकाे लागि व्यवस्थित क्वरेण्टीन र तत्काल परीक्षणलगायतको व्यवस्था मिलाउनु चुनौतीपूर्ण कार्य रहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया