डाेटी : कोरोना सङ्क्रमित भेटिएका गाउँमा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी परिचालन

 असार ४, २०७७ बिहिबार २१:९:५२ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिका ३ आलीअतुराली गाउँमा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानी बढाएको छ । कोरोना सङ्क्रमित १४ जना खुलेआम घुम्न थालेको खबर आएपछि प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षमा जिल्ला सुरक्षा समितिको बैठकले आलीअतुराली गाउँमा उपचारको लागि स्वास्थ्यकर्मी तथा सुरक्षाको लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो । 

गाउँमा परिचालन गरिएको स्वास्थ्यकर्मी टोलीले आज १५ जना अन्य व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणको लागि धनगढी प्रयोगशालामा पठाएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सङ्क्रमितका घरका १५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएका छौँ, रिपोर्ट नआउञ्जेलसम्म कसैलाई पनि गाउँबाहिर जाने अनुमति दिइएको छैन ।’ 

भारतबाट दुई हप्ताअघि घर आएका आलीअतुराली गाउँका १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । गएको जेठ २० गते आलीअतुराली क्वरेण्टीनमा राखिएका २८ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालमा पठाएको थियो । कोरोना परीक्षणको लागि स्वाब पठाइएकामध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमण देखिएपछि आलीअतुराली गाउँ कोरोनाको उच्च जोखिममा रहेको भन्दै आजबाट  स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँभरिका १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि पूरै गाउँ नै जोखिममा भएकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ, आज पठाएको स्वाब परीक्षणमा कोही पोजेटिभ देखिए गाउँ नै सिल गर्छौँ ।’ 

स्वाब सङ्कलन गरी परीक्षणको लागि धनगढी प्रयोगशालामा पठाइएको र पीसिआरको नतिजा नआउँदै आफूहरुलाई घर पठाएका कारण गाउँ नै कोरोनाको जोखिममा परेको एक जना सङ्क्रमितले बताउनुभयो । क्वरेण्टीनमा बसेकाहरु घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै स्थानीयमा त्रास फैलिएको छ । 

गएको जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । जेठ ११ गते गौरीफण्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले निर्माण गरेको क्वरेण्टीनमा बसेका थिए । क्वरेण्टीनमा बसेकै बेला १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीन जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परिक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

छोरा र श्रीमतीमा भने दुई पटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वरेण्टीनमा बसेका अन्य ३१ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो । उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट असार १ गते आएको हो । 

ढिलो गरी परीक्षणको नतिजा पोजेटिभ आउँदा उनीहरु आ–आफ्नो घर पुगिसकेका थिए । पहिलो सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा १० दिनसम्म राखेर जाँच गर्दा कुनै पनि लक्षण नदेखिएकोले क्वरेण्टीनमा बसेको चार दिनसहित जोडेर १४ दिन आइसोलेशनमा राखेपछि जिल्ला अस्पतालले गएको जेठ २९ गते नै डिस्चार्ज गरेको थियो । 

सङ्क्रमित युवकलाई आइसोलेशन वार्डमा राखी १० दिनसम्म उपचार गर्दा कोरोनाको सङ्क्रमण नदेखिएपछि सरकारको ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ ती सङ्क्रमितलाई डिस्चार्ज गरिएको जिल्ला अस्पतालका डा. ज्योति पाण्डेले जानकारी दिनुभयो । 

‘समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय ३ गते हुने थियो’, जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भन्नुभयो, ‘ढिलो रिपोर्ट आयो, क्वरेण्टीनमा बसेको लामो समय भएकाले सबैलाई घर पठाइएको हो, अहिले समस्या भयो अब पोजेटिभ देखिएकालाई अझै केही निगरानीमा राखिने छ ।’ 

डोटीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया