इटलीमा पहिलोपटक पुष्टि हुनुभन्दा दुई महिनाअघि नै कोरोना फैलिएको अध्ययनको निश्कर्ष

 असार ५, २०७७ शुक्रबार १८:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटलीमा गएको डिसेम्बर १८ भन्दा अघि नै कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक अध्ययनले देखाएको छ । 

इटलीका वैज्ञानिकहरुले दुईवटा सहरको ढलमा रहेको फोहोर पानीमा डिसेम्बर १८ मा कोरोना भाइरस रहेको पाइएको बताएका हुन् । 

कोरोना भाइरस सुरु भएको मानिएको चीनले आफ्नो देशमा डिसेम्बरको अन्त्यमा कोरोना भाइरस भेटिएको बताउँदै आएको छ ।

इटलीमा फेब्रुअरीको मध्यमा मात्र कोरोना भाइरस पहिलोपल्ट पुष्टि भएको थियो । इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ (आईएसएस)ले इटलीमा भाइरस फैलिएको बारेमा बुझ्न गरेको अध्ययनले पुष्टि हुनुभन्दा दुई महिना अघि नै देशमा भाइरसको सङ्क्रमण सुरु भइसकेको देखाएको बीबीसीले जनाएको छ । 

इटलीमा भेटिएको प्रमाणले कोरोना भाइरस देखिएको भनिएको समयभन्दा निक्कै पहिले कोरोनाको सङ्क्रमण सुरु भएको देखाएको खबरमा उल्लेख छ । इटलीमा अहिलेसम्म २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ३४ हजार ५ सयभन्दा धेरैको ज्यान गइसकेकाे छ ।

यसैबीच स्पेनमा गरिएको एउटा अध्ययनले बार्सिलोनामा जनवरीको मध्यमा नै भाइरस सक्रिय रहेको पाइएको छ । 

स्पेनमा कोरोनाको पहिलो सङ्क्रमण पुष्टि भएको ४० दिनअघि नै भाइरस सङ्क्रमण भएको देखिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया