विदेशमा अलपत्र शव धमाधम ल्याईंदै, आजै मलेसियाबाट ११ शव ल्याइने

 असार ६, २०७७ शनिबार १२:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज मलेसिया र कुवेतबाट १३ नेपालीको शव नेपाल ल्याइने भएको छ । मलेसियाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ११ जना नेपालीको शव आज साँझ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मकवानपुरका रामसिंह थिङ, सर्लाहीका रामनारायण महतो, गुल्मीका कृष्णप्रसाद ज्ञवाली, सर्लाहीका मोहम्मद जुनियाद मिया मन्सुर, मोरङका राम लखन मण्डलको शव आज मलेसियाबाट ल्याइनेछ ।
यस्तै चितवन भरतपुरका लाक्पा ब्लोलन, रोल्पाका टोपबहादुर पुन, सप्तरीका, इन्द्रकुमार यादव, नुवाकोटका सुजन रानामगर, पर्साका दर्शन पण्डित कुमाल र रामेछापका बुद्धि योञ्जनको शव मलेसियाबाट नेपाली लिएर आउने नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले ल्याउनेछ ।  

यस्तै केहीबेरअघि कुवेतबाट नेपाली लिएर आएको जजिरा एअरले पनि दुई जना नेपालीको शव ल्याएको छ । लम्जुङका आइतबहादुर गुरुङ र सर्लाहीका अमितकुमारको शव आज कुवेतबाट आएको हो । 

बोर्डले विभिन्न देशमा रहेका नेपाली नियोगसँग समन्वय गरेर शव ल्याउने कामलाई तीव्रता दिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । त्रिभुवन विमानस्थलबाट बोर्डले नै शवलाई निःशुल्क घरसम्म पुर्‍याइदिन्छ । आज आउने शव घरसम्म पुर्‍याउनका लागि बोर्ड तयारी अवस्थामा रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि शव पनि विदेशमै रोकिएको थियो । अहिले चार्टर्ड जहाजमार्फत गन्तव्य देशमा समस्यामा परेका नेपाली फर्काउन थालेपछि शव पनि ल्याउन थालिएको हो । 
यसअघि हिजो मात्रै कतारबाट २० जना, कुवेतबाट २ जना, यूएई र साउदीबाट  एक, एक गरी २४ जना नेपालीका शव स्वदेश ल्याइएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया