कोरोना सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया सफल

 असार ६, २०७७ शनिबार १४:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – ​कोहलपुरकाे शिक्षण अस्पतालमा भर्ना भएकी काेराेना सङ्क्रमित गर्भवती महिलाको शनिबार शल्यक्रिया सफल भएकाे छ ।

अस्पतालका सहनिर्देशक डाक्टर नितेश कनोडियाका अनुसार रुपन्देहीको सिद्धार्थनगरको भीम अस्पतालबाट शुक्रबार रेफर गरेर ल्याइएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवती महिलाको शनिबार बिहान शल्यक्रिया गरिएको हो । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रसूति विशेषज्ञहरू डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बालरोग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियोलोजिस्ट सङ्गीता गिरी, नर्सहरू सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार शल्यक्रियाबाट दुई किलो चार सय ग्रामको स्वस्थ शिशुको जन्म भएको छ ।  

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना पोजेटिभ महिलाको उपचारमा उच्च मनोबलका साथ संलग्न भएको भन्दै बिरामीका आफन्तले धन्यवाद दिएका छन् । एक महिनाअघि मुम्बईबाट फर्किएर बुटवलको क्वरेण्टीनमा बसेकी महिलाको पीसीआर परीक्षण गर्दा जेठ ३० कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि  शिक्षण अस्पतालमा अछामको बयलपाटा अस्पतालबाट रेफर भइ आएकी कोरोना पोजिटिभ २५ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो । 

कोरोना पोजिटिभ बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वरेण्टीनमा राख्ने गरिएको छ । बाँकेमा अहिलेसम्म ९० जना चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वरेण्टीनमा राखिएको छ । पटक-पटक अस्पतालका विभिन्न वार्ड एक दिनका लागि सिल भएका छन् ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया