'स्वास्थ्य सामग्री खरिदमा मन्त्री र सल्लाहकारको भूमिका शङ्कास्पद'

 असार ८, २०७७ सोमबार २०:११:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस रोकथामकाे लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सल्लाहकारको भूमिका शङ्कास्पद देखिएको सांसदहरुले बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरुको भूमिकामाथि आशङ्का गर्दै प्रश्न उठाएका छन् ।

समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसङ्ख्या सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग स्वास्थ्य सामग्री खरिद कार्यमा भएको अनियमितताकाे विषयमा छलफल गरेको छ ।

छलफलमा सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले पनि अनियमितता भएको स्पष्ट हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले गएकाे चैत १२ गते दिनभर  हतारमा बैठक गरेर काम गरेको देखिएकाले मन्त्री र सल्लाहकारलाई आशङ्का गर्ने ठाउँ देखिएको बताउनुभयो ।

उहाँले १२ गते राति नै बैंकलाई, कम्पनीलाई, समूहलाई पत्राचार गरी काम गरिएको र पछि फेरि ठेक्का नै रोकेर रद्द गर्ने कार्यले अनियमितता भएको स्पष्ट हुने बताउनुभयो । सांसद खतिवडाले ओम्नी समूहले ल्याएको स्वास्थ्य सामग्रीको गुणस्तर जाँच्नको लागि समेत तीन/चार वटा कम्पनीलाई छनाेट गरी पत्राचार भएको देखिएको तर ती संस्थाले सामग्रीहरु गुणस्तरीय छ भनेर जवाफ दिएको कतै नभेटिएको बताउनुभयो । 

नेकपाकी सांसद धर्मशीला चापागाईँले अनियमितताको आरोपका लागि मात्रै नलगाइएको बताउनुभयो । त्यस्तै नेकपाका सांसद सूर्यप्रसाद पाठकले सामान ल्याउन नसकेको भन्दै ओम्नी समूहलाई रोक्ने काम भएकाेले ओम्नीलाई समान ल्याउन दिने कमिटीले अनियमितताको जिम्मा लिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले मन्त्रीका सल्लाहकारको भूमिका गहिरो सन्देहपूर्ण देखिएको बताउनुभयो । उहाँले मन्त्रीका सल्लाहकारले गरेको निर्णयको जिम्मेवारी मन्त्रीले नै लिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले राजन केसीले चैत ९ गते मनोनित भएका सल्लाहकारलाई खरिद प्रक्रियाको संयोजक नियुक्त गर्नु नै कानुन विपरीत भएको बताउनुभयो । 

उहाँले कोरोना भाइरस रोगको सम्बन्धमा विज्ञको रुपमा नियुक्त गरिएको व्यक्तिलाई सामान खरिदको संयोजक बनाउनु नै अनियमितताको मनस्थिति देखिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया