कुवेतबाट आइपुगे १६० नेपाली, अस्ट्रेलियाबाट पनि आज २७५ जना फर्कंदै

 असार ९, २०७७ मंगलबार १२:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ । आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।

यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज स्वदेश फर्किएका छन् । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।

यस्तै आज अस्ट्रेलियबाट २७५ जना नेपाली स्वदेश फर्कंदैछन् । अस्ट्रेलियाको सिड्नीबाट त्यहाँ कोरोनाको कारण समस्यामा परेका नेपालीको उद्धारका लागि पहिलो चार्टर्ड उडानमार्फत आज २७५ जना फर्कंदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया पुगेका अभिभावकहरु हुन् ।

जहाजमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । अस्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुनेछ । आजै बंगलादेश, माल्दिभ्स र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया