कांग्रेसलाई सांसद भुसालकाे जवाफ : 'नेपाल सधैँभरि भारतको चङ्गुलमा बस्नुपर्छ भन्न खोजिएको हो ?'

 असार ९, २०७७ मंगलबार १२:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वेदुराम भुसालले स्वतन्त्र भएर नेपालले कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गर्नुभएको छ । 

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भुसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गर्नुभयो । सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटे भाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुठभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने ?’

राज्य व्यवस्था तथा सुशासन समितिले सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दङ्गा भड्काउन खोजेको, भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिनुभएको थियो । आजको बैठकमा भुसालले देवको भनाइको खण्डन गर्दै भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताको लागि आवेदन दिन सक्ने कानुन बनाउने त्यही अनुसारको व्यवस्था नेपालमा हुँदा के भिन्नता भयो भन्दै प्रश्न गर्नुभयो ।

अङ्गीकृत नागरिकता प्राप्त नगर्दा राजनीतिक र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै उहाँले स्थायी अवासीय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भन्नुभयो । 

उहाँले भन्नुभयो , ‘सांस्कृतिक आक्रमण भनिएको छ, के भनेको हो ? अङ्गीकृत नागरिकता प्राप्त गर्दा त्यो नागरिकले प्राप्त गर्ने भनेको राजनीतिक अधिकार हो, त्यही प्रतिनिधि सभाको समितिले भनेको छ । स्थायी आवासीय अनुमति पत्र प्रदान गर्नेछौँ । त्यसैमा राजनीतिक अधिकारबाहेक अधिकार हुनेछन् भनेको छ । यस्तो हुँदा कहाँबाट सांस्कृतिक आक्रमण हुन्छ ? राजनीतिक अधिकार दिए मात्रै सांस्कृतिक अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो ?’

देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि उहाँले खण्डन गर्नुभयो । भारतसँग जस्तै चीनसँग पनि प्राचीन कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो ? के भारतको झोलामा जान खोजिएको हो त ? नेपाल सधैँभरि भारतको चङ्गुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? नेपालले स्वतन्त्र ढङ्गले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ ? के सधैभरि भारतको चङ्गुलमा बस्नुपर्छ भनिएको हो । यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ?’

‘भारतीय नागरिकसँग विवाह गरेको कुनै पनि व्यक्तिले निरन्तर सात वर्षसम्म बसेपछि नागकिरताको लागि आवेदन गर्न सक्ने भनेको छ । हामी पनि त्यही गर्दै छौँ के भिन्नता भयो ?’, भुसालले भन्नुभयो । 

उहाँले राजनीतिक अभिष्ट पूरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भुटानमा १० वर्ष, श्रीलङ्कामा सात वर्ष, माल्दिभ्समा १२ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराउनुभयो । नेपालले भारतबाट विवाह गरेर आउने महिलाको लागि मात्रै कानून बनाएको उल्लेख गर्दै उहाँले अन्य देशबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानुन आकर्षित हुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया