वास्तविक मधेशी नागरिककाे उत्थान गर्न नागरिकता विधेयक ल्याइएको हाे : राष्ट्रिय सभा सदस्य बिडारी

 असार ९, २०७७ मंगलबार १३:४१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले धेरै सरिताहरुलाई तत्काल अङ्गीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताउनुभएको छ । 

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै बिडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभए पनि धेरै सरिताहरुलाई तत्काल अङ्गीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताउनुभयो । 

‘विदेशीसँग विवाह गर्न पाइन्छ । केको भारतसँग मात्रै क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अङ्गीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्कसँग जान्नु है’, कांग्रेस सांसद जितेन्द्रनारायण देवलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म ब्या गर्‍याे, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो, यस्तो छैन, दक्षिण एसियामै छैन । उहाँ चाँहि पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’

बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई भ्रममा पार्ने गरी झुठा र बेइमानी कुरा नगर्नसमेत बिडारीले आग्रह गर्नुभएको छ । सांसद देवतर्फ सङ्केत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाईँ कुन देशको झोले हो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदि कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाईँ कुन देशको झोले हो भन्यो भने के गर्ने ? तपाईँले कतापट्टि बोल्नुभयो भने के भन्ने ?’

भारतीय नागरिकलाई मात्रै लागू हुने गरी सरकारले ऐन नबनाएको उहाँले प्रष्ट पार्नुभयो । विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उहाँले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागू हुने कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय नागरिकलाई मात्रै लागू हुने गरी सदनले ऐन बनाएको हो ? यही हो उहाँको कुरा ? संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्छन्, त्यो छुट छ । कसैलाई रोकतोक छैन । त्यस कारणले यो भारतीय नागरिकलाई लागू हुने कुरा होइन । विगतका वितरण गरिएका नागरिकताका विषयमा पनि यो ऐन बनाएको होइन । विश्वका सार्वभौम राष्ट्रले नागरिकतासम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ । हाम्रो देश सार्वभौम सत्ता होइन भन्ने लाग्यो कि कसैलाई ?’

विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उहाँले खण्डन गर्नुभएको छ । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सरकारले वास्तविक मधेशी नागरिककाे उत्थानको लागि नागरिकता विधेयक ल्याइएको बताउनुभयो । ‘मधेशका नारीलाई होच्याएर विदेशबाट विवाह गर्दै फटाफट नेता बनाएर मन्त्री बनाएर हिँड्ने ? अब वंशज मधेशी नारीहरु उनीहरुको संरक्षण गर्ने ? अब वंशज मधेशीहरुको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन । ती त मन्त्री हुन आएका मन्छे हुन्छन्, मधेशको हित गर्दैनन् । यताउति चाकडी गर्छन् । मन्त्री रिटायर हुन्छ । खुरुक्क घर जान्छन्, त्यसैले मधेशमा विकास हुन सकेन ।’ 

विदेशी बुहारीसँग किन डराएको भन्दै नारा लगाउनेले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन् भन्दै उहाँले प्रश्न गर्नुभयो । छोरी ज्वाइँलाई दिने हो कि सांसद र मन्त्री बनाउन दिने हो ? उहाँले प्रश्न गर्नुभयो । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया