'चिनियाँ कम्युनिस्ट नेताहरु सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा लाग्नु अपाच्य'

 असार ९, २०७७ मंगलबार १५:४७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । 

प्रतिनिधि सभाको मङ्गलबारको बैठकको शून्य समयमा बोल्दै उहाँले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवैतर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभयो । पछिल्लो समय चिनियाँ कम्युनिस्ट नेताहरु नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु ‘अपाच्य’ रहेको भन्दै त्यसतर्फ नेकपाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘छिमेकी राष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध विशिष्ट रहेको छ । हाम्रो र छिमेकका राष्ट्रबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र नागरिकहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकोले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल र नेताहरु विगतमा आलोचित रहे । आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।’

उहाँले प्रधानमन्त्रीको लागि फोरजी सर्भेलेन्ससहितको गाडी खरिद प्रक्रियाको सम्बन्धमा गृह मन्त्रीको जवाफ माग्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको लागि फोरजी सर्भेलेन्ससहितको पाँच करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर एक राष्ट्रिय दैनिकमा आयो । माननीय गृह मन्त्री के यो साँचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धन झैँ फजुल खर्च गर्न सरकारी तयारी हो यो । जवाफ पाउँ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया