आज विदेशमा समस्यामा परेका नेपाली ल्याउन ११ चार्टर्ड उडान हुने (सूचीसहित)

 असार १०, २०७७ बुधबार ७:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्तीका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विभिन्न पाँच ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाण्डौ आउने छ भने पाँच ठाउँमा नेपालीलाई लिन जहाज जानेछन् ।

कहाँबाट कति आउने ?

आज साउदीको दमामबाट १५४ जना यात्रु लिएर नेपाल एअरलाइन्सको चार्टर्ड जहाज आउँदैछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउँदैछ ।

विमानस्थलले फर्कनेको तथ्याँक भने खुलाएको छैन । आज कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने जनाइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाण्डौसम्म ल्याइदिइरहेको छ । यस्तै इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कंदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ ।

यस्तै आज हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् । हिमालय एअरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ ।

यस्तै कुवेतमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पनि चार्टर्ड उडान हुने भएको छ । यसअघि त्यहाँ आममाफीमा सहभागीलाई कुवेत सरकार आफैंले निःशुल्क ल्याइदिएको हो । आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैैछ ।

आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ । दुवै जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया