नेकपाको स्थायी कमिटी बैठक चल्दै, सरकार सञ्चालन र एमसीसीको बारेमा छलफल

 असार १०, २०७७ बुधबार १४:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा चलिरहेको बैठकमा पार्टीको काम, सरकारको समीक्षा र एमसीसीलगायतका विषयमा छलफल भइरहेको नेकपाले जनाएको छ । आजको बैठकले अमेरिकाले दिने मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को बारेमा निर्णय हुने सम्भावना छ । 

तर नेकपाका अधिकांश स्थायी कमिटीका सदस्य एमसीसी सम्झौता जस्ताको त्यस्तै पारित गर्न नहुने पक्षमा रहेकाेले एमसीसीको बारेमा निर्णय लिन नेकपालाई कठिन देखिएको बताउँछन् ।एमसीसीको विषयमा दुई अध्यक्षबीच मत नमिलेपछि राजनीतिक प्रतिवेदन नै तयार हुन सकेको छैन । बैठकमा छलफलको लागि राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा भए पनि दुई अध्यक्षबीच एमसीसी सम्झौताबारे फरक–फरक मत भएपछि प्रतिवेदन तयार हुन नसकेको हो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सदनबाट जसरी हुन्छ पारित गर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले औँल्याएका विषयमा संशोधन गरेर मात्र पारित गर्ने अडानमा हुनुहुन्छ ।

नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको मत पनि संशोधन गर्नुपर्ने पक्षमा हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया