काठमाण्डौ महानगरको बजेट १६ अर्ब ४२ करोड, विकास पूर्वाधारमा झण्डै साढे आठ अर्ब खर्च गरिने

 असार १०, २०७७ बुधबार १६:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा पूर्वाधार विकास क्षेत्रकाे लागि आठ अर्ब  ४३ करोड ४३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि एक अर्ब ७८ करोड २७ लाख र आर्थिक विकास क्षेत्रकाे लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै सामाजिक विकास क्षेत्रकाे लागि दुई अर्ब ४९ करोड ९८ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रकाे लागि ९६ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरले सशर्त अनुदानतर्फ दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ काे लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक स्राेतबाट ६ अर्ब  ७६ करोड ६५ लाख र बाह्य स्राेततर्फ निःशर्त अनुदानबाट एक अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार, सामाजिक सुरक्षा भत्ताबापत एक अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड आठ लाख २६ हजार गरी ६ अर्ब १६ करोड आठ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।  

कुल आम्दानीमा नपुग हुने रकम तीन अर्ब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कुल आम्दानीको २१ दशमलव ३० प्रतिशत हो ।  

महानगरपालिकाको आम्दानी प्रक्षेपण 

आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आ आम्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्गत प्रमुख स्रोतकाे रुपमा रहेको बहाल करबाट एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ ।

त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाटपनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलव १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ । 

कोभिड–१९ को असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता 

कोभिड–१९ काे असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभावहरुको न्यूनीकरणकाे लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।  

महानगरकाे लागि विशेष महत्तव मानिने योजनाहरु काठमाण्डाै महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर–तीनकुनेमा बुद्ध पार्क निर्माण, मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापनजस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।  

समृद्धिकाे लागि सहकारी अभियान, एकीकृत सीप विकास कार्यक्रम, मेड इन काठमाण्डाै, जीवन निर्वाहकाे लागि पारिश्रमिक कार्यक्रम, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर सञ्चालनजस्ता महत्त्वपूर्ण कार्यक्रमकाे लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड 

त्यसैगरी काठमाण्डाै महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा संवर्द्धन र पूर्वाधार विकासलाई महत्त्व दिइ बजेट विनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।

‘महानगरबाट सञ्चालित विकास कार्यक्रमको सुनिश्चितताको लाकि सूत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शीतापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलताजस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने विश्वास लिएका छौँ’, बजेट प्रस्तुत गर्दै उपप्रमुख श्रेष्ठले भन्नुभयो, ‘हामीबाट सञ्चालित विकासका गतिविधिहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पूरा गर्न हामी जनप्रतिनिधि,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शङ्का छैन ।’ 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया