‘चीनले नेपाली भूमि मिच्यो’ भनेर सञ्चारमाध्यममा आएका समाचारमा सत्यता छैन : मन्त्रालय

 असार ११, २०७७ बिहिबार १८:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले चीनले नेपालको भूमि मिचेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको अस्तित्वमा नै नरहेको प्रतिवेदनलाई आधार बनाएर सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको हो । 

सन् १९६१ अक्टोबर ५ तारिखको सीमा सम्झौता अनुसार नेपाल–चीनबीचको सीमा तय भएको र समाचारमा बताइए अनुसार हराइरहेको भनिएका चीनसँगको सीमा स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइको कारण निर्माण नै नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सीमाको विषयलाई लिएर कुनै पनि समस्या आएमा दुई देशका अधिकारीबीचको आपसी समन्वयमा समाधान गरिने पनि विज्ञप्तिमा बताइएको छ । ‘यस्तो संवेदनशील विषयमा टिप्पणी गर्नुअघि सञ्चारमाध्यमले सम्बन्धित प्राधिकरणबाट सूचना प्रमाणीकरण गर्न अनुरोध गर्दछौँ । यस्ता समाचार प्रसारण गर्दा दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पर्नेबारे सोच्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया