अबको तीन दिन देशभर मनसुन सक्रिय : केही ठाउँमा ठूलो पानी पर्ने

 असार १२, २०७७ शुक्रबार ७:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँका नदी र खोलामा बाढी आउने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । नियमितजसो वर्षा भएकाले देशका खोला, नाला, नदीहरूमा बाढी आउन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ । तराई र चुरिया क्षेत्रमा चट्याङ्को पनि उत्तिकै सम्भावना छ ।

यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्ने र खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै देशभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ ।

अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने जलविज्ञ सुनिल पोखरेलले बताउनुभएको छ । ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी आउने तथा पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्ने उहाँको भनाई छ ।

उहाँका अनुसार कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ । सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पुर्‍याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पुर्‍याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया