युराेपमा काेराेना सङ्क्रमण दर फेरि बढ्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

 असार १२, २०७७ शुक्रबार १५:१२:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोपमा कोरोना सङ्क्रमणको दर बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रतिबन्ध खुकुलो बनाइएका कारण पछिल्लो केही महिनामा पहिलो पटक युरोपमा सङ्क्रमित हुनेको दर बढेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हन्स हेनरी क्लुगले युरोपमा ११ देशमा अचानक सङ्क्रमणको दर बढेको बताए । जसमा अर्मेनिया, स्विडेन, माल्डोवा र उत्तर म्यासिडोनिया धेरै प्रभावित छन् । 

आफूले यसअघि नै युरोपमा कोरोना सङ्क्रमणको दोस्रो प्रकोप हुन सक्नेबारे चेतावनी दिएको र त्यो अब वास्तविक जस्तो देखिएको उनले बताए । कोरोना प्रकोपलाई लिएर अझै सचेत नहुने हो भने ती देशको स्वास्थ्य क्षेत्र डामाडोल हुने भन्दै क्षेत्रीय निर्देशक क्लुगले सचेत गराएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युरोपेली क्षेत्रमा आउने ५४ देशमा अहिलेसम्म २६ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने एक लाख ९५ हजार जनाको ज्यान गइसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको युरोपेली क्षेत्र निकै ठूलो छ, जसमा युरोपसँगै मध्य पूर्व र मध्य एसियाको पनि ५४ देश र सात क्षेत्र आउँछ । 

यस क्षेत्रमा प्रत्येक दिन औसतमा २० हजार सङ्क्रमण र सात सय जनाको मृत्यु भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया