४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयाे, काेराेनाले कृषि नै जीवन हाे भन्ने पाठ सिकायाे : मन्त्री भुसाल

 असार १३, २०७७ शनिबार १४:४८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताउनुभएको छ । 

एसोसिएशन अफ् नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (आनाज) ले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेकाे अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताउनुभयो । उहँले कृषि विकासकाे लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बर्बाद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद परेका छौँ । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौँ, हामीले अनेक प्रयत्नहरु गरेका छौँ, ठेक्का पट्टा गरेका छौँ, प्रोजेक्टहरु गरेका छौँ । के–के गर्‍याैँ गर्‍याैँ । यो कृषि व्यवस्था बिगार्नकाे लागि ।’

लामो समयसम्म बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताउनुभयो । ३०/४० वर्षदेखि बिग्रँदै आएको कृषि तीन वर्षभित्रमा सुधार्न चुनौती रहेको समेत उहाँले बताउनुभयो ।

देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताउनुभयो । उहाँले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको बताउनुभयो । उहाँले पछिल्लो ३०/४० वर्षयताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कस्तो देखियो भने कृषि प्रधान देश हावा, पानी, माटो आदि इत्यादि फेभर गरेको यस्तो देशमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दूध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै ।’

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर बिउँझाएकाे मन्त्री भुसालले बताउनुभयो । कोरोनाले सिकाएको पाठलाई फेरि पनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उहाँले बताउनुभयो । गएको दशकमा कृषि मन्त्रालय भित्र पनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाेले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको उहाँले बताउनुभयो ।

केही दशक खेर गइसकेकाेले अब नयाँ व्यवस्था अनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारीसमेत उहाँले गराउनुभयो । नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाकाे विषयमा सरकारले ग्यारेण्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताउनुभयो ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया