नेकपा स्थायी कमिटी बैठक : सीमा विवादबारे २१ जनाले धारणा राखे

 असार १३, २०७७ शनिबार १८:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १६ गतेसम्मकाे लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाेले बैठक १६ गतेसम्मकाे लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई दिन सीमा विवादसम्बन्धी छलफल चलेको थियो । सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

शनिबार सीमा विवादबारे २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधनमार्फत सार्वभौमिकता र भूमि रक्षाकाे लागि ऐतिहासिक पहल भएको नेताहरुले बताएका छन् । 

शनिबार देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्दकुमार प्रसाईँ, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए ।

भूमि फिर्ताकाे लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताकाे साथ अगाडि बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका छन् । शुक्रबारको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने केही समय सहभागी हुनुभएको थियो । 

साढे ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बस्नुभएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकूल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया