सलह नियन्त्रणको प्रयास भइरहेको सरकारको भनाइ, प्राविधिकसँग सम्पर्क गर्न आग्रह

 असार १४, २०७७ आइतबार ७:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशका विभिन्न ठाउँमा देखिएको सलह कीरा नियन्त्रणको प्रयास भइरहेको सरकारले जनाएको छ । 

सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।

 मन्त्रालयकाअनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आँकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ । 

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । 

मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले आफ्नो ठाउँमा सलह देखिएकामा नजिकको कृषि प्राविधिकलाई खबर गर्न आग्रह गर्नुभयो । 

धानको बीउलाई जालीले छोपेर जोगाउन सकिने उहाँको भनाइ छ । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएपछि प्रदेशका कृषि वैज्ञानिकहरूले पनि अध्ययन सुरु गरेका छन् । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवकाअनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन सुरु गरेको हो । 

सलह सानो समूहमा मात्रै नेपाल छिरेकाले यसको प्रकोप फैलिने सम्भावना कम रहेको विज्ञहरुको अनुमान छ । सलह एकै ठाउँमा नबस्ने भएकाले यसबाट क्षति हुने सम्भावना निकै कम रहेको, तर सतर्क भने हुनुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

 कृषि मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ । हिजो बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देही, पाल्पा, कपिलवस्तु लगायत जिल्लामा फैलिएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया