कोरोना सङ्क्रमित चार वर्षीया बालिकालाई अस्पताल पठाइयो

 असार १४, २०७७ आइतबार ९:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमि नगरपालिका-९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । 

बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल पठाएको र बालिकाको ६ जना परिवारलाई घरमै क्वरेण्टीनमा राखिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

पाँच दिनअघि बालिकालाई एपेन्डिसाइटिस भएपछि उपचारका लागि काठमाण्डौ मेडिकल कलेज ९केएमसी० सिनामङ्गल लगेपछि उनको स्वाब संकलन गरिएको थियो । चिकित्सकले एपेन्डिसाइटिस शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि दिएर पठाएको परिवारले बताएका छन् । 

बालिकाको पीसीआर रिपोर्ट शनिबार पोजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल लगे पनि  बच्चाको वार्ड नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । नगर प्रमुख श्रेष्ठकाअनुसार सङ्क्रमित बालिकालाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने पुष्टि भएको छैन । परिवार अन्त कतै सम्पर्कमा नगएको बताएका छन् । उनीहरुको एक हप्ताभित्र पीसीआर परीक्षण गरिने भएको छ ।

अन्तिम अपडेट: असार १४, २०७७

तपाईको प्रतिक्रिया