विभिन्न देशमा कोरोना सङ्क्रमणबाट निको हुने नेपालीको सङ्ख्या बढ्यो

 असार १४, २०७७ आइतबार १९:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विदेशमा कोराना सङ्क्रमणबाट निको हुने नेपालीको सङ्ख्या बढेको छ भने ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार विभिन्न देशमा २६ हजारभन्दा धेरै नेपाली सङ्क्रमित भएकोमा १८ हजार ७ सयभन्दा धेरै निको भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया, मलेसिया लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् ।

यस्तै अघिल्लो हप्तासम्ममा विभिन्न १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ । अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको हो । तर गएको हप्ता भने नेपालीको कोरोनाको कारण ज्यान गएको छैन ।

मध्यपूर्वका विभिन्न देशमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या बढिरहेको संयोजक डा. सापकोटाले बताउनुभयो । गएको दुई हप्तामा मात्र सङ्क्रमित नेपालीको संख्या ८ हजारभन्दा बढी थपिएको स्वास्थ्य समितिले जनाएको छ । अहिलेसम्म कतारमा कोरोना सङ्क्रमित भएकामध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार यो साता पहिलो पटक दक्षिण अफ्रिकामा रहेका ५ जना नेपालीमासमेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया