लामाे समयपछि खुलेकाे शेयर बजार पहिलाे दिन नै ओरालाे लाग्याे

 असार १५, २०७७ सोमबार १६:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लकडाउन खुकुलाे भएपछि खुलेकाे शेयर बजार पहिलाे दिन नै ओरालाे लागेकाे छ । 

कारोबार खुलेपछि झण्डै एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अङ्क) ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर बिक्री गर्न छाडेर माग बढाउँदा बजारमा बिस्तारै सुधार देखियो । तर पनि सोमबारको बजार बन्द हुँदासम्म नेप्से परिसूचक १२ दशमलव ८७ अङ्कले घटेर १ हजार १ सय ८८ दशमलव ७ अङ्कमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अङ्कले घटेर २ सय ५६ दशमलव २९ अङ्कमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद बिक्री भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंकलगायतका कम्पनीका शेयरधनीले कमाएका छन् । यी कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् । जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समूहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फण्ड समूहका सूचकहरु भने घटेका छन् ।

आजदेखि खुलेको नेप्से बजार लकडाउनअघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुला गरिएको थियो । तर दुई दिन नै निर्धारित समयअघि नै नकारात्मक सर्किट लागेर कारोबार बन्द भएपछि तेस्रो दिनदेखि फेरि कारोबार बन्द गरिएको थियो ।

त्यसयता अनिश्चित बनेको शेयर बजार असार १५ गते (आज) देखि पुरानै व्यवस्था अनुसार खोलिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले लकडाउनभन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो, त्यही अनुसार नै खोलिएको बताउनुभयो । उहाँले लकडाउनभन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खुला गरिएको बताउनुभयो ।

सीईओ साउदले सार्वजनिक सवारी साधन नचलेको, बैंक पनि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको र निजी सवारी सधान जोर/बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एक घण्टा हटाइएको बताउनुभयो । उहाँले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने बताउनुभयो । उहाँले दोस्रो बजार अब कुनै पनि अवस्थामा बन्द नहुने दाबीसमेत गर्नुभयो । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उहाँले बताउनुभयो ।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले शेयर कारोबारपछिको रकम अनलाइनमार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया