'सङ्क्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट फर्किएका'

 असार १६, २०७७ मंगलबार १४:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु भएको बताउनुभएको छ । 

उहाँले देशमा सङ्क्रमण पुष्टि भएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरका व्यक्तिमा सङ्क्रमण फेला परेको बताउनुभएको हो ।

उहाँले सोमबारसम्म सङ्क्रमितकाे सङ्ख्या १३ हजार पुगेको र त्यसमध्ये तीन हजार दुई सय निको भइसकेकाले अहिले पनि काेराेना नियन्त्रणमै रहेको बताउनुभयो । मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिनुभयो । 

अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक सात हजार सात सय ९१ परीक्षण सम्भव भएको र अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुर्‍याइ दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताउनुभयो । 

यसैबीच नेपाल रेड क्रस सोसाइटी र कोकाकोला फाउण्डेशनले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री मन्त्रालयलाई हस्तान्तरण गरेको छ । मन्त्री ढकालले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेशनले अप्ठ्यारो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताउनुभयो ।

नेपाल रेड क्रस सोसाइटी र कोकाकोला फाउण्डेशनले सात वटा भेन्टिलेटरसहित गगल्स तीन सय थान, सर्जिकल मास्क एक हजार एक सय ५० थान, डिस्पोजेबल कभर पाँच सय ५० थान, ग्लोब्स २० हजार थान, बुट चार सय ५० थान, स्यानिटाइजर दुई सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड पाँच लिटरको चार सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो ।

एक करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेड क्रसले जनाएको छ । आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्सलगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टिलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेड क्रसले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया