नेकपामा ‘सोफा’ विवाद सकियो, शीर्ष नेताहरु पनि कुर्सीमै

 असार १६, २०७७ मंगलबार १४:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ ।

असार १० गते बुधबारदेखि सुरु भएको बैठक आज चौथो दिन बसिरहेको हो । आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणकाे लागि सरकारले गरेका कामबारे छलफल भइरहेको नेकपाले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु पनि अन्य स्थायी कमिटीका सदस्यहरुसँगैको लहरमा बस्नुभएको छ । यसअघिका बैठकमा शीर्ष नेताहरु मञ्चका आरामदायी सोफामा र अन्य सदस्य तलपट्टी सामान्य कुर्सीमा बसेका थिए । तर कम्युनिस्ट पार्टीकै बैठकमा सामन्ती शैली अपनाइएको भन्दै विरोध भएपछि आज कुनै पनि नेताहरु मञ्चमा नबसी सबै जना समान तरिकाले बसेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गएको शनिबार बसेको बैठकमा भारतसँगको सीमा विवादबारे छलफल भएको थियो । बैठकमा नेकपाका २१ जना स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र विविध कार्यसूची छ । यस्तै कार्यसूचीको विविधमा रुकुम पश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरूको भत्ताका विषय राखिएको छ ।

अस्ति मदन भण्डारीको जन्म जयन्ती र हिजो राष्ट्रिय धान दिवस परेकाले बैठक आज बस्ने गरी सकिएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया