विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण : खाडीमा केही जोखिम, तर डराउनुपर्ने अवस्था छैन

 असार १६, २०७७ मंगलबार १४:४९:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना महामारी सुरु भएपछि परदेशमा हुने परिवार र आफन्तको चिन्ता घरदेशीलाई छ । नेपालमा सङ्क्रमणको डर बढ्दा परदेशीलाई पनि चिन्ता छ । तर खुशीको कुरा के छ भने विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ७० प्रतिशत निको भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार सङ्क्रमित नेपालीमध्ये ७० प्रतिशत निको भएका छन् भने सङ्क्रमितको पनि उपचार भइरहेकाले डराउनुपर्ने अवस्था छैन । उहाँका अनुसार गएको शनिबारसम्ममा खाडी र मलेसियासहित विश्वका विभिन्न देशमा रहेका २६ हजार २२७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये १८ हजार ७८८ जना अर्थात ७० प्रतिशत नेपाली निको भएका छन् । मलेसियामा त सङ्क्रमित नेपाली सबैजना निको भएका छन् ।

तथ्याँकअनुसार अहिलेसम्म खाडीको देश साउदीमा १ हजार ६५०, बहराइनमा ४५१, यूएईमा १ हजार ६ सय, कुवेतमा ७५०, कतारमा १८ हजार, मलेसियामा ८१ जना गरी जम्मा २२ हजार ५ सय ३२ जना  नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

खाडीका ६ देश र मलेसियामा जम्मा ४ लाख ४९ हजार २५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३ लाख ३२ हजार ३६१ जना निको भइसकेका छन् भने १ लाख १४ हजार १२९ जनाको अस्पतालमा उपचार भइरहेको छ । यी देशमा कोरोनाका कारण २ हजार ७५० जनाले ज्यान गुमाइसकेका छन् ।

अन्य देशको तुलनामा खाडीमा जोखिम 

नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेसियामा अहिले कोरोना सङ्क्रमण निकै घटेको छ । नयाँ सङ्क्रमितको संख्या कम छ भने सङ्क्रमितमध्ये पनि अधिकांश निको भइसकेका छन् । ८ हजार ६३७ जना सङ्क्रमित भएकोमा ८ हजार ३३४ जना निको भएरका छन् भने अब १८२ जना मात्रै निको हुन बाँकी छन् ।

‘विश्वभरी नै सङ्क्रमणको जोखिम त छ, तर अन्य देशको तुलनामा अहिले मध्यपूर्वका देशमा सङ्क्रमण बढी देखिएको छ ।’

तर खाडीका देशमा सङ्क्रमण बढिरहेको छ । कतार, साउदी, यूएई, कुवेत र बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या अहिले पनि बढ्दो छ । तर निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । कतारमा १८ हजार जनामा सङ्क्रमण देखिए पनि अधिकांश सङ्क्रमित निको भइसकेका छन् । 

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सापकोटा भन्नुहुन्छ, ‘विश्वभरी नै सङ्क्रमणको जोखिम त छ, तर अन्य देशको तुलनामा अहिले मध्यपूर्वका देशमा सङ्क्रमण बढी देखिएको छ ।’

हुन त अरु देशको तुलनामा यी देशमा नेपालीको सङ्ख्या पनि धेरै छ । जहाँ लाखौं नेपाली काम गर्न श्रम स्वीकृति लिएर पुगेका छन् । कतारमा त सङ्क्रमितमध्ये अधिकांश आप्रवासी श्रमिक रहेका छन् । तर निको हुनेको सङ्ख्या पनि धेरै छ भने कतारमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या कम छ । 

कतारमा अहिलेसम्म ९५ हजार १०६ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ८० हजार १७० जना निको भइसकेका छन् भने ११३ जनाको कोरोनाको कारण ज्यान गएको छ । समितिका संयोजक डा. सापकोटा भन्नुहुन्छ, ‘अहिले कुनै पनि देशले यो मेरो नागरिक, यो विदेशी नागरिक भनेका छैनन्, सबैलाई आफ्नै नागरिक सरह नै उपचार गराइरहेका छन् ।’

सबै ठाउँमा उस्तै अवस्था नभए पनि समग्रमा कोरोना महामारीका बेलामा विदेशमा नेपालीले पाएको उपचार राम्रो मान्नुहुन्छ डा. सापकोटा । अहिले खाडीका देश र मलेसियाले पनि भिसा, कानुनी अवस्था लगायतका केही पनि कुरा हेरेका छैनन् । कोही पनि व्यक्तिमा कोरोना देखिएमा उपचार समान हिसाबले गरेका छन् । 

कहिलकाहीँ भनेको बेलामा उपचार नपाएको, अस्पताल जान नपाएकोजस्ता गुनासा श्रमिकबाट आए पनि समग्रमा विदेशमा अहिले नेपालीले पाएको उपचार राम्रो नै रहेको उहाँको भनाइ छ । 

मानसिक समस्या

 कोरोनाको कारणे विदेशमा रहेका नेपालीमा पनि मानसिक समस्या पनि देखिएको छ । कतिपयमा सामान्य भए पनि कतिपयमा गम्भीर रुपमा नै यो समस्या देखिएको र २, ३ जनाले आत्महत्या नै गरेको एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले बताउनुभयो ।

‘अहिले कोरोनाको जोखिम सुरु हुँदा, भविष्यको बारेमा अनिश्चितता बढ्दा मानसिक समस्या सुरु हुनु सामान्य भए पनि, कसैकसैलाई समस्या नै भएकाले विभिन्न देशमा रहेका एनआरएनएका शाखाले त्यस्ता व्यक्ति पहिचान गर्ने र परामर्श दिने काम गरेका छौं,’ डा. सापकोटाले भन्नुभयो । 

डा. सपकोटा भन्नुहुन्छ, ‘अहिले आपत नै परेको छैन र आफू रहेकै ठाउँमा बस्न सकिन्छ भने घर नफर्कौं, केही समय कुरौं भनेर हामीले भनिरहेका छौं ।’

दीर्घ रोगी लगायतलाई कोरोना सङ्क्रमण भएमा जोखिम बढी भए पनि अन्य सङ्क्रमितको अवस्था अहिले सामान्य नै रहेको छ । 

अत्यावश्यक छैन भने यात्रा नगरौँ

अहिले कोरोनाको कारण विदेशमा विभिन्न समस्यामा परेपछि नेपालीहरुको स्वदेश फिर्ती सुरु भएको छ । झण्डै १२ हजार नेपाली स्वदेश फर्किसकेका छन् । तर पहिले पहिले स्वदेश फर्कन्छु भनेर बाटो हेरेर बसेका कतिपयले नेपालमा सङ्क्रमणको जोखिम बढ्दै जाँदा घर फर्कने मानसिकता परिवर्तन गर्न थालेका छन् । डा. सपकोटा भन्नुहुन्छ, ‘अहिले आपत नै परेको छैन र आफू रहेकै ठाउँमा बस्न सकिन्छ भने घर नफर्कौं, केही समय कुरौं भनेर हामीले भनिरहेका छौं ।’

कोरोना सङ्क्रमण नभएको रिपोर्ट साथमा लिएर स्वदेश फर्किए पनि यात्रामा जोखिम हुन्छ । अहिले विदेशबाट फर्कनेको चाप बढी भएकाले स्वदेश आएपछि कोरोना सङ्क्रमण भइहाल्यो भने विदेशमा जस्तो उपचार नहुन सक्छ । तर त्यसो भन्दैमा स्वदेश नफर्कने भन्ने त होइन । तर मिल्छ र सकिन्छ भने यो बेला यात्रा गर्नुभन्दा आफू रहेकै ठाउँमा सुरक्षितसाथ रहनु नै उपयुक्त हो भन्नुहुन्छ, एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सापकोटा । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया