एजेण्डामै प्रवेश नगरि सकियाे मङ्गलबारकाे नेकपा स्थायी कमिटी बैठक

 असार १६, २०७७ मंगलबार १९:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मदन जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठक निर्धारित कार्यसूचीमा प्रवेश र छलफल नगरि सकिएको छ । 

सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मङ्गलबार स्थायी कमिटी त्यही विषयमा केन्द्रित भएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागिपरेको निवेदनको विषयमा छलफल भएको बताउनुभयो ।

बैठकमा आज सीमा समस्यासम्बन्धी छलफल सकाएर कोभिड–१९ को विषयमा कार्यसूची रहे पनि छलफल हुन नसकेको उहाँले बताउनुभयो ।

'सीमा समस्या विषयमा बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड–१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेर स्थायी कमिटीले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले आफूलाई हटाउन खोजेको, भारत र पार्टीका नेताहरुकैसंलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो' उहाँले भन्नुभयो, 'अर्को विषय दुई दिन अगाडि निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताकाे लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ/छैन भन्ने विषयमा स्पष्ट हुन छलफल भयो ।' 

बैठकमा प्रधानमन्त्री ओलीले आफूले दिएको अभिव्यक्तिकाे विषयमा प्रष्ट पार्नुभएको उहाँले बताउनुभयो । दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भन्नुभयो, ‘म यही पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यहि हो ।’

मङ्गलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावललगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । अर्को बैठक बुधबारका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया